कांग्रेस अहिले नजागे कहिले जाग्‍ने ?

Radio Budhinanda FM -   BFM || २०७७ पुस २१ मङ्गलबार

काठमाडौँ — अन्ततः नेपाली कांग्रेसले लाजगाज टार्न आन्दोलनको घोषणा गरेछ । आफूलाई लोकतन्त्रको बलियो ‘पहरेदार’ ठान्ने कांग्रेसले केपी ओलीको कदमलाई हिचकिचाउँदै ‘अलोकतान्त्रिक र असंवैधानिक’ त भन्यो, तर के उसको आन्दोलनको मुद्दा बिनासर्त संसद् पुनःस्थापना नै हो ? अथवा, आन्दोलनको आवरणमा चुनावी तयारीमा जुटेको हो ? संशय खडा भएको छ । 

पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेजस्तो गरेर चुनावी तयारीमा जुटेको सन्देश दिइसकेको कांग्रेस अब प्रादेशिक चुनावी क्षेत्र, नगर हुँदै गाउँपालिकाका वडासम्म पुग्ने योजनामा छ । लोकतन्त्रमा राजनीतिक दलले चुनावको पैरवी गर्नु, स्थानीय तहसम्मका जनता/कार्यकर्तासँग अन्तरक्रिया गर्न खोज्नु अन्यथा हुँदै होइन । तर, लोकतन्त्रमाथि नै संकट मडारिएको यो बखत कांग्रेससँग जनताको अपेक्षा ‘कर्मकाण्डी आन्दोलन’ होइन ।

पुस ५ गते केपी ओलीले संविधानमा घात गर्दै निरंकुश कदम चाल्नेबित्तिकै कांग्रेस स्वतःस्फूर्त जागृत हुनुपर्थ्यो । प्रमुख प्रतिपक्षीका हैसियतले सशक्त खबरदारी र दबाब सिर्जना उसको दायित्वभित्रै पर्थ्यो । लोकतान्त्रिक संविधानमाथि धावा बोल्दा किन्तु परन्तु गरेर दोधारे र द्विविधाग्रस्त अवस्थामा रहनु कांग्रेसका लागि सुहाउने कुृुरा थिएन, होइन । लोकतन्त्रका सबै आन्दोलनको अगुवाइ गरेको दाबी गर्ने अनि पद्धतिमाथि नै प्रहार हुँदा सत्ता राजनीतिको लाभ–हानिको हिसाब–किताब गर्ने ? मिल्छ ?

संसद् पुनःस्थापना कि चुनाव ? सडकदेखि सर्वोच्च अदालतसम्म बहस भइरहँदा यो प्रश्नमा कांग्रेस प्रस्ट छैन । सभापति शेरबहादुर देउवा कांग्रेसलाई चुनावका पक्षमा उभ्याउन चाहन्छन् । उनले बितेका दुई सातामा यसका लागि अनेक प्रयत्न गरे । तर, सकेनन् । रामचन्द्र पौडेल लगायतको समूह ओलीको कदमका विरुद्ध सडक संघर्ष गर्नुपर्ने मतमा उभियो । दुवै मतलाई सम्बोधन गर्दै कांग्रेस अहिलेको विषम परिस्थितिलाई रणनीतिक रूपमा उपयोग गर्ने निर्णयमा पुग्यो । अर्थात्, ‘चुनावमुखी आन्दोलन’ । एकातिर सडक संघर्ष गरेको सन्देश जाने, अर्कातिर देउवाले चाहेजस्तो पनि हुने । कांग्रेसलाई लागेको छ— यो बाटो समाउँदा दुवै हातमा लड्डु आउँछ, लोकलाजबाट पनि बच्ने र राजनीतिक लाभ पनि हुने । तर, उसले आफ्नो गिरेको साख र प्रभाव फर्काउने एउटा अभूतपूर्व अवसर गुमाउँदै गरेको पक्षचाहिँ भुलेको छ ।

तीन वर्षअघि नमीठो चुनावी पराजयपछि थिलथिलिएको कांग्रेस शिथिल अवस्थामै थियो । ओलीको असंवैधानिक कदमअघि जति बेला संसद् चलिरहेको हुन्थ्यो, एकाध नेता मात्रै देखिन्थे नत्र कांग्रेस खोज्नुपर्थ्यो । गतिशील प्रतिपक्ष नहुँदाको दुःख नेपाली राजनीतिले यसबीच धेरैपटक बेहोर्‍यो । कम्युनिस्टहरूकै कलह र सत्ता–उन्मादले संविधान ‘डिरेल’ भएकामा शंका छैन, तर प्रमुख प्रतिपक्षको निरीह अवस्था पनि यसमा त्यत्तिकै जिम्मेवार छ । आलोचकहरू त ओली–कदममा देउवाको भित्री साँठगाँठ भएको आरोपसमेत लगाउँछन् । अन्तर्यमा जे भए पनि प्रमुख प्रतिपक्षको सशक्त उपस्थिति नहुनु पनि ओली ‘मनपरीतन्त्र’ को एउटा कारक हो ।

ओली ‘मनपरीतन्त्र’ ले मुलुकको राजनीति दुर्घटनाग्रस्त भएको छ । लोकतान्त्रिक आन्दोलनका उपलब्धि संकटमा छन् । बाह्य चलखेल बढेको छ । लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने हो कि भन्ने संशय जन्मिएको छ । कांग्रेसकै नेताहरू भन्छन्, ओलीले नेपाली राजनीतिलाई अँध्यारो सुरुङभित्र हाले । यो कहाँ पुगेर कसरी अवतरण हुन्छ, अन्योल नै छ । यस्तो बेला राजनीतिक उपलब्धिको रक्षा गर्ने कि प्रतिगमनको मतियार हुने ? लोकतान्त्रिक शक्तिहरूलाई समेटेर निरंकुशताका विरुद्ध आन्दोलनको अगुवाइको अवसरलाई उपयोग गर्ने कि ढुलमुले देखिने ? कांग्रेसले खुट्याउन सकेको देखिँदैन ।

निष्पक्ष चुनाव लोकतन्त्रको सौन्दर्य हो । कुनै पनि लोकतान्त्रिक पार्टी चुनावविरोधी हुनै सक्दैन । यद्यपि जुन पृष्ठभूमिमा चुनावको घोषणा भएको छ, यो बेला कुनै पनि दलको राजनीतिक मुद्दा चुनाव हुन सक्दैन । अहिलेको संकट सत्तारूढ दलभित्रको आन्तरिक कलह, नेताहरूबीचको प्रतिष्ठाको लडाइँ, अझ प्रस्ट भन्नुपर्दा, एउटा व्यक्तिको सनकको उपज हो । यसलाई सच्याउने कि अरू संकटग्रस्त बनाउने ? सोच्नुपर्ने कुरा यही हो ।

धेरै पछि कांग्रेस जुरमुराएको छ । तर, यो जुरमुराइ सार्थक बनाउन उसले आफूभित्र रहेको वैचारिक अलमललाई चिर्न सक्नुपर्छ । कांग्रेस ठान्छ, राजनीति भनेकै चुनावी खेल हो । चुनाव आउँदा मात्रै कांग्रेस जुरमुराउन थाल्छ । कांग्रेसले आफूलाई राजनीतिक–वैचारिक रूपले गतिशील बनाउन नसकेको धेरै काल भयो । अब यो नियतिबाट बाहिर ननिस्कने र कम्युनिस्टहरूको कलह र द्वन्द्वमा मात्रै आफ्नो राजनीतिक लाभ र भविष्य देखिरहने हो भने, त्यो क्षणिक हुनेछ ।

निश्चय पनि कांग्रेसले चुनावको तयारी गर्नुपर्छ । आवधिक चुनावमा जनमतबाट परीक्षण हुने अधिकार कांग्रेसले सुरक्षित राख्न नपाउने कुरै छैन । तर, त्योभन्दा अघि यो बेलाका केही कार्यभार, केही प्राथमिकता छन्, जसमा उसले आफूलाई केन्द्रित गर्न सक्नुपर्छ । जस्तो,

१. यति बेला विधि मिच्ने मिचाहा प्रवृत्तिविरुद्ध आन्दोलन चलेको छ । नागरिक समाज, कवि–लेखक, सत्तारूढ दलकै एउटा समूह, अरू साना दल लगायतको समुदाय आन्दोलनमा छन् । अर्थात्, लोकतन्त्रविरोधी आन्दोलनको मुद्दा उनीहरूसँग छ । यदि यो मुद्दा आफ्नो बनाउने हो भने, कांग्रेसले आन्दोलन गर्ने औपचारिकता मात्रै पूरा गर्ने होइन, साँच्चिकै आन्दोलनमा डट्नुपर्छ । चुनावकेन्द्रितझैं देखिने उसको आन्दोलनले आम अपिल गर्न सकेको छैन । संविधान रक्षा र संसद् पुनःस्थापनाको आन्दोलनमा आफूलाई बिनासर्त उभ्याउँदै कांग्रेसले अगुवाइ गर्न सके मात्रै विगतको विरासतको गाथा दोहोर्‍याउन सुहाउँछ ।

२. आन्दोलनको मुद्दामा मात्रै होइन, कांग्रेसले आफैंभित्र वैचारिक प्रस्टता खोज्नु पनि उत्तिकै आवश्यक देखिन्छ । संवैधानिक राजतन्त्र र प्रजातन्त्रको वकालत गर्दै आएको कांग्रेसले २०६३ को आन्दोलनमा आइपुग्दा आफूलाई गणतन्त्रका पक्षमा उभ्यायो । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाको नेतृत्व गर्दै अग्रगमनको बाटामा बढ्यो । कांग्रेसकै नेतृत्वमा धर्मनिरपेक्षता, संघीयतासहितको संविधान जारी भयो । तर, अहिले कांग्रेसभित्रकै एउटा गुट धर्मनिरपेक्षता, संघीयता आदि मुद्दाहरूमाथि प्रश्न गर्दै हिन्दुराष्ट्रको मुद्दा अघि सार्दै छ । यी मुद्दामा कांग्रेसको प्रस्ट धारणा आम जनता थाहा पाउन चाहन्छन् । अग्रगामी राजनीतिक मुद्दालाई संस्थागत गर्ने बाटो रोज्ने कि दक्षिणपन्थी हुने ? कांग्रेसले चुनावमा जानुअघि तय गर्नुपर्ने अर्को महत्त्वपूर्ण कार्यसूची हो यो ।

३. चुनावअघि उसले गर्नैपर्ने अर्को कार्यभार हो— नेतृत्व परिवर्तन । ओली ‘कू’ ले मुद्दा विषयान्तर गरेर मात्रै हो, नत्र पछिल्ला केही महिनायता कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा घनीभूत रूपमा उठ्दै आएको छ । सभापति शेरबहादुर देउवाले अहिले चुनावका पक्षमा पार्टीलाई उभ्याउन खोज्नुको कारण नेतृत्व हस्तान्तरणको मुद्दा बलियो गरी उठ्नु पनि हो । देउवा जसरी पनि आगामी महाधिवेशनबाट सभापतिमा दोहोरिन चाहन्छन् । तर, अरू धेरै आकांक्षीले अबको नेतृत्वमा आँखा लगाएपछि देउवा अप्ठेरोमा छन् । कतिसम्म भने, आफ्ना निकटका विश्वासपात्र मानिएका विमलेन्द्र निधिले समेत उम्मेदवार हुने निर्क्योल गरेपछि देउवाका लागि आगामी महाधिवेशन सहज हुनेछैन ।

त्यो बुझेका देउवाले महाधिवेशनअगावै आफ्नै नेतृत्वमा चुनावमा जान सके एकातिर सरकार बनाउन सक्ने सम्भावना, अर्कातर्फ पुनः पार्टी नेतृत्व आफ्नै हातमा आउने आकलन गरेरै चुनावका पक्षमा पार्टीलाई लैजान खोजेका हुन् । कम्युनिस्टहरूबीचको फुट र कलहको लाभ लिने अवसरका रूपमा देउवाले अहिलेको परिवेशलाई बुझेका छन् । तर, यो बुझाइ कांग्रेसको आगामी राजनीतिका लागि प्रत्युत्पादक हुन सक्छ । ओलीले अवैधानिक ढंगले घोषणा गरेको चुनावमा जाने हतारो कांग्रेसका लागि पनि उपयुक्त होइन । फेरि, जनमतमा जानुअघि कांग्रेसले महाधिवेशनबाट आफ्नो नीति र नेतृत्वको नवीकरण गर्नु जरुरी छ । पछिल्लो चुनावको पराजयको समीक्षा, राजनीतिक रूपमा प्रस्टतासहितको नयाँ नेतृत्व स्थापित नभई जनतामा जाने आधार कांग्रेससँग छैन ।

अहिलेको कांग्रेस नेतृत्व ‘डेट एक्स्पायर’ भइसकेको छ । सत्तारूढ दलका शीर्ष नेताहरूबीचको सत्ता लुछाचुँडीले कम्युनिस्टहरू जति घीनलाग्दा देखिएका छन्, कांग्रेसको नेतृत्व तह पनि त्योभन्दा भिन्न होइन । हात्ती र हात्तीछाप चप्पल भनेजस्तै । ओलीले अहिले जे गरे, देउवाले २०५९ मै गरिसकेका थिए । त्यसले गर्दा भएको राजनीतिक दुर्घटना इतिहासमा दर्ज भइसक्यो । प्रवृत्तिगत हिसाबले ओली र देउवाबीच खासै अन्तर छैन । त्यसकारण पनि कांग्रेसले चुनावअघि नै नेतृत्व परिवर्तनलाई आफ्नो मुख्य मुद्दा बनाउन सक्नुपर्छ । आवश्यक परे विशेष महाधिवेशन गरेरै भए पनि ।

कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणका लागि पछिल्लो पुस्ताको बलियो हस्तक्षेप आवश्यक छ । तर गणतन्त्रका लागि सडकमा आवाज बुलन्द गर्ने यो पुस्ता पनि अहिले आफ्नै राजनीतिक आग्रहको बन्दी बनेको छ । ‘दाइहरू चिढिए’ राजनीतिक करिअर सकिन्छ भन्ने भयग्रस्त मनोविज्ञान, पद र अवसरवादी चरित्रका कारण पार्टीभित्रका बहस/विमर्शमा प्रभावी हुन सकेको छैन । शीर्षदेखि नवपुस्तासम्म आ–आफ्नै स्वार्थ र आत्मकेन्द्रित प्रवृत्तिको बन्दी हुँदा कांग्रेसको धार कमजोर छ । ओलीको असंवैधानिक कदममा जसरी कांग्रेस ‘नरम’ देखिएको छ र विरोधको औपचारिकता मात्रै पूरा गर्दै छ, त्यसले त्यस्तै देखाउँछ ।

कांग्रेसभित्रका अवगुण केलाउँदै उति बेलै बीपी कोइरालाले लेखेका छन्, ‘हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्छौं । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीको समस्याको हल खोज्छौं । तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना, रुचि वा अरुचिका छाया मात्रै हुन जान्छन् । यसलाई हामीले हटाउनुपरेको छ ।’

आज पनि कांग्रेस बीपीले चर्चा गरेको उही अवगुणको भारी बोकेर अघि बढिरहेको छ । लोकतन्त्रमा संकट आउँदा कांग्रेसका लागि आन्दोलन अनिवार्य सर्त बन्नुपर्थ्यो, जीवन–मरणकै प्रश्न हुनुपर्थ्यो । किन बनेन ? किन अलमलमा पर्‍यो ? किन दोधारे र द्विविधाग्रस्त बन्यो ? कारण उनै बीपीले भनेजस्तै हो । कांग्रेसको आन्दोलनको निर्णयमा पनि व्यक्तिगत स्वार्थ, समूहका रुचि वा अरुचिका छाया प्रतिविम्बित भइराखेका छन् । यो प्रवृत्तिबाट कांग्रेसको रूपान्तरण अहिलेको अनिवार्य आवश्यकता हो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल