LIVE FM

सुदूरपश्चिम प्रदेश सरकाले २५ लाख भन्दा साना याेजना नदिने ।

  • BFM
  •    
  • March 15, 2023

सुदूरपश्चिम  प्रदेश सरकारले उपभोक्ता समितिमार्फत हुने पूर्वाधार निर्माणका कार्यमा निरुत्साहन गर्न दुई वटा कार्यविधि पारित गरेको छ ।

आज मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट दुई वटा कार्यविधि पारितका लागि पेश भएको प्रस्तावलाई पारित गरेको हो ।

आर्थिक मामिला मन्त्री नरेश शाहीले उपभोक्ता समितिमार्फत हुने कामलाई निरुत्साहन गर्न मन्त्रालयबाट पेश भएको विशेष र समपुरक सम्बन्धी कार्यविधि पारित भएको जानकारी दिए ।

उनका अनुसार अब समपुरक अनुदानमार्फत जाने योजनामा न्यूनतम २५ लाख र समपुरक अनुदानमा न्यूनतम ५० लाख रकम कायम हुने गरि कार्यविधिमा व्यवस्था गरिएको छ । उनले भने –‘विगतमा विशेष र समपुरक अनुदानका योजनामा दुई लाखका योजना जाने र यसमा उपभोक्ता समितिमार्फत काम गराउने प्रवृति भयो । यसलाई रोक्न मन्त्रीपरिषदले सो निर्णय गरेको हो । यसले अब उपभोक्ता समितिमार्फत भईरहेका अनियमिततामा कमी आउने छ ।’

यस्तै मन्त्रीपरिषदको बैठकले शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । शिक्षा क्षेत्र सुधारका लागि प्राध्यापक डाक्टर हेमराज पन्तको संयोजकत्वमा तीन सदस्यीय टोली र स्वास्थ्य क्षेत्र सुधारका लागि डाक्टर गणेशबहादुर सिंहको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको उनले बताए ।

उनले भने –‘टोलीले गठन भएको ३० दिनभित्र प्रतिवेदन तयार गरि मन्त्रीपरिषदमा पेश गरिसक्नुपर्ने छ ।’

ताजा समाचार