स्पेनिस शब्द ‘ते–आमो’ को भाव हो ‘म तिमीलाई माया गर्छु।’
चियाप्रेमी कृति खेतान र स्तुति मोदीले ‘ते’ को साटो ‘टी’ राखेर ‘टी-आमो’ बनाएका छन्। अंग्रेजी शब्द ‘टी’ भनेको चिया। यही नामबाट उनीहरू हर्बल चियामा आफ्नो ब्रान्ड बनाउँदै छन्।
टी-आमोले विभिन्न हर्बल चियापत्ती उत्पादन गर्छ। यसमा मुख्य रूपमा आयुर्वेदिक, फ्लोरल र फ्रुट्स चिया पाइन्छ। आयुर्वेदिकमा लेमनग्रास, रास्पबेरी, पुदिना हुन्छ। फ्लोरलमा गुलाफको कोपिला, ल्याभेन्डर, चमेली, हिबिस्कस, क्यामोमाइल जस्ता फूल हुन्छन्। फ्रुट्समा विभिन्न फलफूलको मिश्रण हुन्छ।
यस्ता १५ किसिमका चिया टी-आमोले बनाउँछ।
टी-आमोका एक सञ्चालक कृतिका अनुसार सेवनबाट हुने लाभका आधारमा चियाको श्रेणी निर्धारण गरिएको छ। चियामा कुनै किसिमको रासायनिक पदार्थ, कृत्रिम स्वाद र चिनी प्रयोग गरिएको हुँदैन। केही चियामा मह प्रयोग गरिएको हुन्छ।
‘हामीकहाँ पाइने सबै चिया अर्गानिक हुन्छ। कुनै पनि कृत्रिम स्वाद मिसाउँदैनौं,’ उनले भनिन्, ‘चियाले दिने फाइदाअनुसार ग्राहकको सजिलोका लागि वर्गीकरण गरेका छौं।’
उनीहरूले चिया बनाएर प्याकेजिङ गर्दै बेच्न थालेको दुई वर्ष हुन लागेको छ। हाल मासिक कम्तीमा १५० जनाले किन्ने गरेका छन्। यसमा बारम्बार आउने ग्राहकको संख्या ७० प्रतिशत जति छ।
टी-आमोको सञ्चालन व्यवस्थापन स्तुतिले सम्हालेकी छन्। मार्केटिङको काम कृतिको जिम्मामा छ।
दुवै सञ्चालकले किंग्स कलेजबाट बिजनेस एडमिन्स्ट्रेसनमा स्नातकोत्तर तह पूरा गरेका छन्। उनीहरू नाताले नजिकका दिदी–बहिनी हुन्।
चिया कम्पनी सुरू गर्नुअघि उनीहरू छुट्टाछुट्टै आइटी कम्पनीमा जागिरे थिए। २०७६ चतैमा कोरोना लकडाउन सुरू भएपछि उनीहरू सँगै बसेर घरबाटै काम गर्थे। फुर्सदको समयमा थरीथरीका चिया बनाएर पिउँथे।
उनीहरूले बजारमा थरीथरीका चिया त फेला पारे आफूहरूले खोजेको जस्तो चिया भेट्टाएनन्। केही हर्बल चिया मगाएर परीक्षण गरे।
‘हामी फ्लोरल र फ्रुट्स चिया खोजिरहेका थियौं। केही बिक्रेताले आयुर्वेदिक चिया बिक्री गरे पनि नेपालमै उत्पादित यस प्रकारको ब्रान्ड भेट्टाएनौं,’ कृतिले भनिन्।
यसपछि उनीहरूले नेपालकै जडिबुटी, फूल र फलबाट अर्गानिक चिया उत्पादन गर्ने सोच बनाए। अनि योजना बनाएर अघि बढे।
ब्रान्ड नाम खोजी गर्दै जाँदा उनीहरूलाई ते–आमो मनपर्यो। त्यसैलाई टी-आमो बनाए।
अनि पाँच लाख रूपैयाँ लगानी गरेर काम थाले।
‘अर्गानिक र स्वस्थकर चिया पिउँदा थुप्रै फाइदा छन्। चिया उपभोक्तालाई यही कुरा बुझाउन र नेपाली ब्रान्डमा हर्बल चिया उपलब्ध गराउन व्यवसाय सुरू गर्यौं,’ स्तुतिले भनिन्, ‘चियामा हाम्रो रूचि पनि थियो। रूचि अनुसारकै काम थालेका हौं।’
टी-आमो सुरू गर्दा उनीहरू बजारमा पाइनेभन्दा फरक चिया बनाउने सोचाइमा थिए। सुरूमा गुलाफ र क्यामोमाइल सहित अन्य केही फूल तथा केही फलफूलको मिश्रणबाट चिया बनाएर सार्वजनिक गरे। बजारको प्रतिक्रिया र थप अनुसन्धानसँगै चियाको विविधता बढाए।
कम्पनी सुरू गरेपछि कृति र स्तुति दुवैले खाइरहेको आइटीको जागिर छाडे। अहिले चियाकै काममा रमाएका छन्।
‘सधैं एउटै तालिकाको जागिर हुन्थ्यो। अहिले समय बितेको पत्तै हुँदैन। काममा व्यस्त छौं,’ स्तुतिले भनिन्।
चियाबारे थप जान्न कृतिले आयुर्वेदसम्बन्धी केही कक्षा लिएकी छन्। अहिले ‘हर्बलिजम’ पढ्दैछिन्। यसमा आयुर्वेदिक औषधिमा प्रयोग हुने बिरूवाबारे पढाइ हुन्छ।
हाल उनीहरू १० ग्रामको ट्रायल प्याकेजदेखि ५० ग्रामसम्मको प्याकेजिङमा चिया बेच्छन्। उपहारका लागि ‘टी-आमो गिफ्ट सेट’ उपलब्ध छ। बाँसबाट बनेको स्ट्रेनर (चिया छान्ने) पनि पाइन्छ। स्ट्रेनर बनाउन भक्तपुरका केही बासिन्दासँग सहकार्य गरेका छन्।
चिया प्याकेजिङमा विशेष ध्यान दिइएको कृति बताउँछिन्।
‘बजारीकरणमा प्याकेजिङको महत्त्व हुन्छ। सामान्यतया उपभोगको म्याद प्याकेजिङको मितिदेखि दुई वर्षसम्म हुन्छ,’ उनले भनिन्।
उनीहरूले बेच्ने अधिकांश चिया नेपाली उत्पादन हो। देशका विभिन्न क्षेत्रबाट कच्चा पदार्थ संकलन गरी प्रशोधन गरेर चिया बनाउने काम हुन्छ। विशेष गरी पाँचथर, सिन्धुपाल्चोक, ललितपुरको लुभु र काठमाडौंको टोखामा पाइने केही बिरूवाबाट चिया बन्छ। कम्पनीलाई बिरूवा उपलब्ध गराउन केही ग्रामीण किसानले अप्रत्यक्ष रोजगारी पाएका छन्।
ल्याभेन्डर भने आयातित चिया हो। यहीँ उत्पादनको सम्भावनाबारे अध्ययन भइरहेको छ।
‘यी सबै प्रकारका चिया स्वस्थकर छन्। शरीर सन्तुलित राख्न, पाचन प्रणाली बलियो बनाउन, अनिद्रा समस्या समाधान गर्न मद्दत गर्छ,’ कृति भन्छिन्, ‘मानिसमा स्वास्थ्य चेतना बढेको छ। खानपिनको शैली पनि बदलिँदैछ। यस्ता मानिसका टी-आमोमा पाइने चिया राम्रो विकल्प हुन सक्छ।’
टी-आमो चिया दरबारमार्गस्थित क्युरियो कन्सेप्ट स्टोर, झम्सिखेलको हर्भेदा कमन्स र ठमेलको को–क्रियटिभमा किन्न पाइन्छ। कम्पनीको वेबसाइट, सामाजिक सञ्जाल र दराजबाट पनि अर्डर गर्न सकिन्छ।