LIVE FM

मानित विश्वविद्यालयका रुपमा अग्रसर क्याम्पसमा महिनौँदेखि तालाबन्दी

  • BFM
  •    
  • July 21, 2022

बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला झुन्डिरहेका छन् । २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।


तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ शर्मा अहिले  लाइब्रेरीको कक्षबाट काम गरिरहेका गरेका छन् । २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेको यो सामुदायिक क्याम्पस २०६४ सालमा भएको ग्रेडिङमा ‘क’ श्रेणीको कलेजका रुपमा छानिएको थियो ।



२०६८ सालमा गुणस्तर प्रमाणपत्रसमेत प्राप्त गरेको यो क्याम्पस महिनौँदेखि तालाबन्दीका कारण अहिले अस्तव्यस्त देखिन्छ । अहिले क्याम्पस प्रमुख शर्मासँगै सहायक क्याम्पस प्रमुख विष्णु जोशीको कार्यकक्ष, बीबीएम इन्चार्जको कार्यकक्ष र एमबीए प्रमुखको कार्यकक्षमा ताला झुन्डिएका छन् । कतिपय कार्यालयमा दुईतीन वटा तालासम्म झुन्डिएका छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालय बन्नका लागि त्रिभुवन विश्वविद्यालयका कार्यक्रम छोडेर स्वायत्त शैक्षिक कार्यक्रम सञ्चालन गरेको हो । स्वायत्त कार्यक्रम अघि बढाउँदा बीबीएस र एमबीएसका कार्यक्रम हटाइएको छ । यो वर्ष यी दुई तहका पठनपाठन भएको छैन । विद्यार्थीहरूले त्यसको पनि विरोध गरेका छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले बीबीएसको ठाउँमा स्वायत्त कार्यक्रमको रुपमा सेमेष्टर प्रणालीको बीबीएम चलाएको छ । एमबीएसको ठाउँमा एमबीएएफ पठनपाठन गराएको छ । पहिलेदेखि पढाइ भइरहेका कार्यक्रम हटाएपछि ४ विद्यार्थी संगठनले विरोधस्वरुप एक वर्षअघि तालाबन्दी गरेका हुन् ।

तालाबन्दीपछि साउन २८ गते यी विद्यार्थी संगठनले क्याम्पसमा तोडफोडसमेत गरेका थिए । विद्यार्थीहरूले भएको बीबीएस सस्तोमा पढ्न पाउने भए पनि कलेजले महँगो र नयाँ सेमेस्टर ल्याउँदा तल्लो वर्गका विद्यार्थीहरू मर्कामा परेको गुनासो गरेका छन् । अघिल्लो वर्षदेखि क्याम्पसले बीबीएसका विद्यार्थी भर्ना गर्न बन्द गरेको छ ।

नेपालकै वाणिज्य शिक्षाका लागि नाम चलेको क्याम्पसमा वाणिज्य विषयको कार्यक्रम हट्ने भएपछि कमर्शका विद्यार्थी पनि दुःखी रहेको बीबीएमका विद्यार्थी मिलन विकले रातोपाटीलाई बताए । लुम्बिनी वाणिज्य क्याम्पसका नेविसंघ इकाई अध्यक्ष सुरज क्षेत्रीले क्याम्पसले स्वायत्त कार्यक्रमको रूपमा सेमेस्टर प्रणाली ल्याएको बताए । उनले पटक पटक वार्तामा बसे पनि प्रशासनले आफ्ना माग सुनुवाइ गर्न नखोजेपछि तालाबन्दी गरिएको बताए ।

मानित विश्वविद्यालयमा जानुपर्छ भन्नेमा सहमत भए पनि बीबीएस कार्यक्रम हटाएकोमा विद्यार्थीहरूको विरोध छ । 

नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले बीबीएस हटाएकोमा विरोध गरे पनि एमाले निकट अनेरास्ववियु भने मानित विश्वविद्यालय र स्वायत्त कार्यक्रमकै पक्षमा उभिएको छ ।

अनेरास्ववियु क्याम्पस इकाईका अध्यक्ष नीरज आचार्यले मानित विश्वविद्यालयमै जानुपर्ने पक्षमा आफूहरू रहेको बताए । तर विद्यार्थीहरुको शुल्क चाहिँ कम गराउनु पर्ने पक्षमा आफूहरु रहेको बताए । सो क्याम्पसमा हाल ४ हजार ५ सय जना विद्यार्थी अध्ययनरत छन् ।

लुम्बिनी वाणिज्य क्याम्पसले आफ्नो ब्रान्ड बनाएको वाणिज्य शिक्षा छोडे पनि मानित विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामा आफ्नो छुट्टै अस्तित्व कायम गर्ने क्याम्पस प्रमुख शर्माले दाबी गरे ।

विद्यार्थीहरूसँग पटक पटक छलफल भइरहेको र अब अन्तिम चरणको वार्ता हुने भन्दै उनले चाँडै तालाबन्दी खुल्ने विश्वास व्यक्त गरे । उनका अनुसार तालाबन्दी खोल्न सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको नेतृत्व एउटा समिति बनेको र सो समितिले  निरन्तर विद्यार्थीहरुसँग संवादमा रहेर काम गरेको छ ।

ताजा समाचार