साउन, काठमाडौं । ‘ढिक्काको ५०–ढिक्काको ५०’, नेपाल वायुसेवा निगम अघिको आकाशे पुलबाट झर्नासाथ आउने कोलाहलमा पनि यो आवाज निकै चर्को सुनिन्छ । सानो प्लाष्टिकमा नुन र फिटकिरी बेच्न फुटपाथमा बसेकी काभ्रे बेथानचोककी चमेलीमाया स्याङ्बोलाई घाँटी सुक्ने गरी कराउन मन त छैन, तर नकराए व्यापार हुँदैन ।
चिसो भुइँमा लटपटिंदै भए पनि दैनिक गुजारा र छोराछोरीको पढाइ खर्चका लागि उनलाई यो काम नगरी सुखै छैन । दिनको तीन पटकसम्म सडकपेटीमा सामान बेच्न आइपुग्दा चमेलीमायाले मुश्किलले औसत ६०० रुपैयाँ कमाउँछिन् । महिनामा १५ हजार जति नकमाए उनलाई खान–बस्न र छोराछोरीलाई स्कुल पठाउन खर्चै पुग्दैन ।