LIVE FM

बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?

  • BFM
  •    
  • July 16, 2022

६ दिनसम्म छलफल भएर सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

साथै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बहुमततर्फ लक्षित गराउने भन्दै तालमेलको पक्षमा निर्णय गरेको छ । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

तर चुनावी तालमेल गर्दा ५ वर्ष स्थिर सरकारको सुनिश्चितता हुनुपर्ने कांगेसको शर्त छ ।

एक नेताका अनुसार निर्णय लेख्नुअघि भएको शीर्ष छलफलमा संस्थापन पक्षले चुनावी तालमेल गर्ने मात्र भनौं भनेका थिए । उपसभापति पूर्णबहादुर खड्काले तालमेलबारे नरम भाषा प्रयोग गर्नुपर्ने तर्क गरेका थिए ।

तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार गठनका लागि मात्र तालमेल भन्न नहुने बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेका थिए भनेर पनि गठबन्धनको औचित्य पुष्टि नहुने भन्दै दुबैले पाँच वर्ष स्थिर सरकारको प्रष्ट खाकासहित जनतामा जानुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवा पनि त्यसमा सहमत भएपछि बैठकको निर्णयमा लेखिएको छ, ‘तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।’

सरकार गठनका लागि मात्र चुनावी तालमेल गर्न नहुने भन्दै कांग्रेस महामन्त्री थापाले अनलाइनखबरसँग भने, ‘गठबन्धनको संस्कार विकास गरेर जानुपर्छ भनेर पनि हामीले न्यूनतम साझा कार्यक्रम बनाएर जानुपर्छ भनेका हौं ।’

यसको आशय कांग्रेससँग मिलेर चुनाव जित्ने, सरकार चाहिँ अर्को दलसँग मिलेर बनाउने अवस्था नआओस् भन्ने पनि भएको कांग्रेस नेताहरु बताउँछन् । अरु दलहरुले पनि स्थानीय चुनावको परिणामलाई सन्तोषजक मानेको र गठबन्धनलाई अगाडि लैजानुपर्छ भनिरहेको भन्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘उहाँहरुले पनि मन/सोच बदल्नुहुन्छ भन्ने लागेको छैन ।’

ताजा समाचार

ताजा समाचार