LIVE FM

अदालत भवनको दुई तला माथिबाट हाम फालेर भागेका थिए विश्वकर्मा

  • BFM
  •    
  • September 8, 2022

प्रहरीले म्याद थप्न लगेका लक्ष्मण विश्वकर्मा जिल्ला अदालत, दाङको भवनको दुई तला माथिबाट हाम फालेर भागेको पुष्टि भएको छ।

सिसिटिभी क्यामराको फुटेजमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतको दुई तला माथिबाट भुइँमा हाम फालेर भागेको स्पष्ट देखिएको प्रहरीले बताएको छ।

फुटेज अध्ययनपछि जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले विश्वकर्मा ज्यानको समेत पर्वाह नगरी दुई तला माथिबाट हाम फालेर भागेको बताए।

‘अदालत भवनको माथिल्लो तलामा सिसाको टुक्राटाक्री छन्। तल्लो तलामा रड थुपारिएको छ,’ डिएसपी गौतमले भने, ‘त्यस्तोमा समेत ज्यानको पर्वाह नगरी विश्वकर्माले हाम फालेको देखियो। भुइँमा हाम फालेपछि उठेर उनी दौडिँदै गएर पर्खाल नाघेको देखिएको छ।’

जिल्ला अदालतको नयाँ भवन पाँच तलाको छ।

घोराही– १० नारापुरमा एक व्यक्तिको घरमा प्रवेश गरी सुनका गहना र केही नगदसमेत चोरी गरेको अभियोगमा बुधबार उनलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। 

पीडितले ३० हजार रूपैयाँभन्दा धेरै रकम र कानमा लगाउने गहना चोरी भएको बताए पनि विश्वकर्माको साथबाट चार हजार जति नगद मात्रै फेला परेको प्रहरी अधिकारीले जानकारी दिए। 

२४ घन्टाभन्दा बढी समय कुनै पनि व्यक्तिलाई हिरासतमा राख्न नपाइने हुँदा बिहीबार बेलुका पाँच बजेतिर विश्वकर्मालाई थुनामा राखेर अनुसन्धान गर्न भन्दै प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको थियो।

त्यही क्रममा विश्वकर्मा शौचालय जाने बहाना बनाएर शौचालयको सानो झ्यालबाट छिरेर दुई तला माथिबाट जोखिम पूर्ण रूपमा हाम फालेर भाग्न सफल भएका थिए।

विश्वकर्मालाई म्याद थपका लागि लगेका प्रहरीले उनले हाम फाल्दै गरेको आफैंले देखेको स्वीकार गरेका छन्।

‘विश्वकर्माले हाम फाल्दै गरेको देखेपछि उनलाई लिएर जाने प्रहरी सिँढीबाट दौडिएर तल आइनपुग्दै उनी उठेर दौडिँदै अदालतको पर्खाल नाघेर भाग्न सफल भएछन्,’ डिएसपी गौतमले भने, ‘विश्वकर्माले पो ज्यानको माया नराखी हाम फाले, प्रहरीले त्यसो गर्न नसकेको देखियो।’

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि डिएसपी गौतमले बताए।

प्रहरी हिरासतमा रहेको व्यक्तिलाई थप थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था भए प्रहरीले म्याद थपका लागि अदालत लैजाँदा हतकडीसहित लैजान्छ। तर न्यायाधीशकहाँ पेस गर्दा सुरक्षाको उचित प्रवन्ध गरी हतकडी खोल्ने गरिन्छ।

विश्वकर्मालाई भने प्रहरीले न्यायाधीशको कार्यकक्षमा उपस्थित नगराउँदै हतकडी खोल्ने कमजोरी गरेको अर्का एक प्रहरी अधिकारीले बताए।

‘विश्वकर्माले लामोबेर शौचाललय जान्छु भनेपछि उनलाई लिएर जाने प्रहरीले विश्वास गरे र हतकडी खोलिदिए। सुरक्षामा कमजोरी त्यहीँ भयो,’ ती प्रहरी अधिकारीले थपे, ‘त्यति मात्रै नभएर शौचालय गएको समयमा बन्दीलाई त्यसरी ढोकाको चुकुल लगाएर शौच गर्न दिइँदैन। आधा ढोका खोलेको हुनुपर्थ्यो।’

जिल्ला प्रहरी प्रवक्ता गौतमले पनि त्यो कुरा नकार्न नमिल्ने र सुरक्षामा कमजोरी कुनै पनि हालतमा स्वीकार गर्न नसकिने तर्क गरे। गौतमका अनुसार बिहीबार विभिन्न अभियोगमा पक्राउ परेका १७ जना बन्दीलाई प्रहरी निरीक्षकको कमान्डमा दुई हवल्दारसहित २१ जना प्रहरीले अदालतमा म्याद थपका लागि लिएर गएका थिए।

फरार विश्वकर्मालाई बिहीबार पहिलोपटक म्याद थपका लागि जिल्ला अदालतमा लगिएको थियो। गौतमका अनुसार विश्वकर्मा यसअघि लागुऔषध मुद्दामा पक्राउ परेको प्रहरी रेकर्डमा देखिएको छ। 

‘उनको पृष्ठभूमि नियाल्दा आवारा र लावारिस जस्तै भन्ने बुझिएको छ,’ उनले भने, ‘घोराही पूरै सिल गरी उनको खोजी जारी छ।’

फरार विश्वकर्माको खोजीका लागि घोराहीमा एक सयभन्दा बढी प्रहरी परिचालन भएको उनले बताए।

ताजा समाचार