सप्तरी – सप्तरीमा गएराति करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको ज्यान गएकाे छ । करेन्ट लागेर सप्तरीकाे कञ्चनरुप नगरपालिका-६ मा दुई जनाकाे र राजगढ गाउँपालिका-२ कमलपुरमा एक जनाकाे ज्यान गएकाे हाे । कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा-बुहारी रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयाे ।
सात महिनाकी गर्भवती रहेकी अन्जलीलाई मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै कमलपुरका ५६ वर्षीय शिवशङ्कर साहकाे पनि मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर ज्यान गएकाे यादव जानकारी दिनुभयाे ।