LIVE FM

प्रदेश १ को नाम ‘किरात प्रदेश’ नै किन ?

  • BFM
  •    
  • July 21, 2022

विषय प्रवेश


अब नामकरण गर्न बाँकी एक नम्वर प्रदेश मात्रै रहेको छ । पछिल्लो समय नामकरणको विषयमा बाक्लो छलफल भइरहेको छ । तर राजनैतिक दलहरु नाममा एकमत छैनन् । प्रदेश सभामा रहेका मुख्य दलका सभासदहरु किरातको विरुद्धमा छन् । उनीहरु कोशी र सप्तकोशी जस्ता भौगोलिक नामहरुमा मत जाहेर गरिरहेका छन् । उता साना दलहरु साना–साना पहिचानलाई जोडेर वहुपहिचानको पक्षमा छन् । 


माओवादी लगायतका पार्टीहरु किरातको पक्षमा रहेका छन् । मुख्य दलहरुले यसलाई जातीयता भनेर संकुचित र भड्किलो अपव्याख्या गर्दै भौगोलिक नामाङ्कनको पुरानै जन्मजात एकतारे रटिरहेका छन् । वस्तुतः किरात सभ्यता हो, जातीयता पटक्कै होइन । भूगोलसँग पनि मानव समाजको साइनो त रहन्छ तर त्यो भन्दा जीवन्त सम्वन्ध सभ्यतासँग जोडिएको हुन्छ । त्यसैले भूगोल भन्दा सभ्यताको आधारमा नाम राख्नु उत्तम हुन्छ । यद्यपि प्रदेश सभामा विद्यमान दलीय अंकगणित र निरपेक्ष अडानको कारण नामाङ्कन्को मुद्धा सजिलै टुंगिने देखिदैन ।



सभ्यताकोे उत्पत्ति
     वस्तुतः मानव समाजले उत्पादनको लागि गरिने सवैखाले सम्वन्धको  निरन्तर प्रक्रियाबाट नै सभ्यताको विकास भएको पाइन्छ । ढुंगे वा जङ्गली युगको अन्त्यसँगै पशुपालन र खेतीपातीको युग आरम्भ भयो । समाज विकासको यही लामो प्रक्रिया अन्तरगत मानव समाज एउटा विकसित, संगठित  र स्थायी संरचनामा रुपान्तरित हुँदै गयो । यही विन्दुवाट विश्वमा सभ्यता आरम्भ भएको देखिन्छ । 
विश्वका विभिन्न स्थानमा मानव सभ्यता देखा परे । त्यस अन्तरगत मेसोपोटामिया, सिन्धु घाटी, नाइल नदी, ह्वाङ्हो नदी, ग्रीक, रोमन, एज्टेक, मायान, इन्कास आदि मुख्य सभ्यता हुन् । किरात यस्तै समकालीन सभ्यताकै एउटा अंग हो । यही प्राचीन सभ्यताकै विकसित, विस्तारित र परिवर्तित रुप नै आधुनिक विश्व मानव समाज हो, अनि पूर्वी र मध्य नेपालको पनि समाज हो । यसकारण सभ्यता मानव जगतको पहिलो एवं सर्वाधिक महत्वपूर्ण आधार हो ।

सभ्यताको परिभाषा
यो ल्याटिन भाषाको ‘सिभिस’ शव्दवाट व्युत्पति भएको हो । यसको अर्थ नगरमा वस्ने नागरिकलाई जनाउँदछ । शताव्दीयौैं लामो मानव विकासको ऐतिहासिक भौतिकवादी प्रक्रियावाट हासिल गरिने वुद्धि, ज्ञान, सीप र अनुभव प्राप्तीको समग्रता नै सभ्यता हो । मूलतः सभ्यता भनेको मानव समाजको त्यस्तो विकसित अवस्था हो, जहाँ उच्चतम् रुपमा विकसित सरकार, विज्ञान, संस्कार, सँस्कृति, उद्योग, व्यवसाय, साझा मनोविज्ञान, साझा सामाजिक मूल्य र मान्यता अनिवार्य हुन्छ । 

कतिपय अध्येताहरुले नगरहरुमा गरिने सम्पूर्ण क्रियाकलापको पूर्ण रुपलाई सभ्यता भनेर परिभाषित गरेका छन् । यस अतिरिक्त धर्म वा सामाजिक नियम, सामाजिक संरचना, लेखन, लिपी र कलाहरुको एउटा स्थापित मूल्यमा गरिने सामाजिक गतिविधिको सग्लो पद्यतिलाई सभ्यता भनिन्छ । अर्थात् राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक मानव जीवनयापनको तमाम् प्रक्रिया, शैली र सम्वन्ध नै सभ्यता हो ।

सभ्यताको विशेषता
वास्तवमा सभ्यता बनीबनाउ चाहनाकै भरमा रातारात निर्माण हुँदैन । यसले उत्पादनका कष्टसाध्य लामो ऐतिहासिक प्रक्रिया गुजार्नै पर्दछ । यसको केही मूलभूत विशेषता हुन्छ । यसमा आफ्नै स्वामित्वमा रहेको भूगोल चाहिन्छ, जहाँ साझा रुपमा नै नागरिकहरु वसोवास गर्न सकुन् । यसैगरी एकिकृत मनोविज्ञान हुनुपर्दछ । साझा मनोविज्ञान, साझा भाषा, साझा धर्म र सँस्कृति जरुरी हुन्छ । 
सभ्यता बन्न निश्चित भूगोल अन्तरगत स्थायी प्रकृतिको राजनीतिक तथा सामाजिक संरचना चाहिन्छ । कृषि, उद्योग, व्यापार वा जीवन निर्वाहको स्थापित वा पद्यतिगत अर्थराजनीतिक सम्वन्ध हुनुपर्दछ । स्थायी चरित्रको राजनैतिक राज्यका साथै सरकार र कर्मचारीतन्त्र जरुरी हुन्छ । श्रम र व्यापारको विशिष्टीकरण गरिएको हुन्छ । सामाजिक वर्ग, सार्वजनिक काम, कला र वास्तुकला अनिवार्य हुन्छ । यसमा आफ्नै सामाजिक संस्था, सँस्कृति र अर्थराजनीतिक सम्वन्ध सहितको खास समाज व्यवस्था विद्यमान हुन्छ, जसले एउटा विशेष ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ । 

किरात सभ्यता
यसरी सभ्यता सम्वन्धित उपर्युक्त परिभाषा र विशेषतालाई नियाल्दा किरात आफैमा एउटा स्थापित प्राचीन सभ्यता हो । किरात सभ्यता मुन्दुमी दर्शनमा आधारित रहेको  मानिन्छ । मुन्दुम किरातीहरुको जीवनदर्शन वा विज्ञान हो । प्राचीन कालमा हिमालय क्षेत्रलाई किमपुरुष भनिन्थ्यो, जसको अर्थ किरात प्रदेश भनेर दावी गरिएको पाइन्छ । 
त्यसवेला हिमालय क्षेत्रमा सिंहको टाउको र मान्छेको शरीर गरेको मानव प्रजाति भएको वताइन्छ । यही जाति नै किरात हो भन्ने मत पनि रहेको छ । यो भारतको वैदिक सभ्यताको समकालीन मानिदै आएको छ । साथै हवाङ्हो र सिन्धु उपत्यकाको सभ्यता विकास र विस्तार भएसँगै अस्तित्वमा आएको देखिन्छ । 
यता यजुरवेदमा समेत किरातः शव्द उल्लेख गरिएको छ । महाभारत युद्धमा किराती राजा यलम्वरको सहभागिता रहेको पनि पौराणिक ग्रन्थहरुमा भेटिन्छ । यसरी उनीहरु झण्डै चार हजार वर्ष अघिदेखि नै हिमाली क्षेत्रमा वसोवास गर्दैआएको अनुमान गरिएको छ ।

यद्यपि प्रकृतिपूजक किराती राजा यलम्वरले ईशापूर्व लगभग १५ सय वर्ष अघि नेपाल उपत्यकामा पहिलो किराती राज्य स्थापना गरेपछि मात्र यसले मूर्तरुप लिएको देखिन्छ । ३२ जना किराती राजाहरुले झण्डै दुइ हजार वर्षसम्म शासन गरेको उल्लेख छ । तथापि यो समयावधिको विषयमा भने एकमत छैन । त्यसवेला पूर्वमा टिष्टादेखि पश्चिममा त्रिशुलीसम्म किरात राज्य रहेको दावी गरिन्छ । 
किरातकालमा नै किरात सभ्यताको उच्चतम विकास र विस्तार भएको देखिन्छ । किनकि यसै अवधिमा निश्चित भूगोल, सरकार, नीति–नियम, भाषा, सामाजिक अनुशासनको नियम, सँस्कृति, परम्परा, रहनसहन, वास्तुकला, चित्रकला, कृषि, पशुपालन, उद्योग, व्यवसाय, व्यापार र साझा मनोविज्ञानको संस्थागत विकास भएको पाइन्छ । वास्तवमा सभ्यताको मूलभूत तत्व यिनै हुन् । किरात सभ्यताकै विकसित, विस्तारित, केन्द्रीकृत र रुपान्तरित सामाजिक रुप नै वर्तमान पूर्वी नेपालको सिंगो अर्थराजनीतिक पद्यति हो ।

मार्क्सवादी दृष्टिकोणमा सभ्यता​
मार्क्‍सवादले पनि मानव इतिहासको शास्वत पक्षलाई आत्मसात गर्दछ । सभ्यताको विकास र विस्तारलाई स्वीकार गर्दछ । यो समाज विकासको निरन्तर ऐतिहासिक प्रक्रिया अन्तरगत विकास हुन्छ भन्ने मान्यता राख्दछ । तर माक्र्सवादले सभ्यतालाई अमूक विकास र विस्तारमा मात्र सीमित गर्दैन । सभ्यताको शासक वर्गीय चरित्र र स्वार्थको वकालत गर्दछ । खास समाजको खास उत्पादन सम्वन्ध अन्तरगतको सम्पूर्ण सामाजिक क्रियाकलापहरुको आधारमा सभ्यताको जन्म हुन्छ भन्ने मान्यता राख्दछ । 

निश्चित सामाजिक वर्ग, संरचना वा सत्ताको श्रृंखलाद्वारा अथवा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रियावाट विकास हुने सार्वभौम प्रक्रियालाई आत्मसात गर्दछ । सभ्यताको न्यायिक र गैरन्यायिक अनि प्रगतिशील र गैर–प्रगतिशील वर्ग चरित्रवारे वकालत गर्दछ । सभ्यताको सार भनेको यही हो, जुन यसको निर्णायक पक्ष हो । 
मूलतः उत्पादनको निम्ति गरिने सङ्घर्षकै बिचमा सभ्यताको विकास हुँदै आएको छ । सभ्यता पनि शासक र शासित वर्गीय हित वा स्वार्थअनुरुप स्थापित वा विस्थापित हुने गर्दछ । माक्र्सको भाषामा यही अन्तरविरोधपूर्ण सामाजिक सम्वन्धको सग्लो र विकसित पद्यति नै सभ्यता हो । वस्तुतः यो उत्पादनको निम्ति गरिने सङ्घर्ष र वर्गसङ्घर्षको लामो ऐतिहासिक प्रक्रियाद्वारा विकास, विस्तार र स्थापित हुने गर्दछ ।  

प्रदेश नामकरण
हामी अहिले सङ्घीयता कार्यान्वयनको चरणमा छौं । यसै अन्तरगत प्रदेश नामकरणको पेचिलो बहसमा छौं । मूलतः कुनैपनि मुलुकको मूलभूत अर्थराजनीतिले तपसीलका सवै पक्ष निर्धारण गर्दछ । आज हाम्रो अभ्यासमा रहेको सङ्घीयता जनअपेक्षाअनुरुप उत्पीडितमैत्री स्वायत्त राज्यको राजनैतिक हैसियतमा त छैन । अर्थात् अपेक्षित रुपमा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गमैत्री देखिन्न । पहिचान वा अधिकार सुनिश्चितताको दिशातर्फ परिलक्षित छैन । 
संघीयता जारी गर्दा नै फेरो खुस्की सकेको छ  । यद्यपि यो उत्पीडन र विभेदमुखी एकात्मक राज्यरुप विरुद्ध उठान गरिएको समाज सापेक्ष मुद्धा भएको हुँदा भौगोलिक र प्रशासनिक अन्तरवस्तुमा कैद गरिएको भएपनि स्वीकार्न वाध्य छौं । यसकारण नाममा पहिचान खोज्ने प्रयत्न भनेको ‘नहुनु मामा भन्दा कानो मामा निको’ भन्ने उक्ति जस्तै हो । पहिचानको बटमलाइनलाई एक हदसम्म सही र प्रगतिशील कदम मान्नै पर्दछ । तर नामैबाट विद्यमान सम्पूर्ण समस्या समाधन भइहाल्ने बनीबनाउ चाहना वा आत्मरति लिनु भने राजनैतिक सुझवबझको दरिद्रता मात्रै हुन्छ । यसमा सचेत हुनैपर्दछ ।

एक नम्वर प्रदेशको सवालमा स्वयं किरातीहरुमा समेत एकरुपता देखिदैन । विचारधारात्मक राजनैतिक स्पष्टताको अभाव खट्किएको छ । किरात, लिम्वुवान र खम्वुवान बिचमा मतमतान्तर छ । यसले किरात विरोधीहरुलाई सप्तकोशी र कोशीमा सहमति खोज्नु सजिलो बनाइरहेको छ । सङ्घीयता नै नचाहनेहरुको लागि त झन ताली पड्काएर नाचगानमा रम्ने अवस्था छ । 
यता उत्पीडित मैत्री संघीयता चाहनेहरु सभ्यता वा पहिचानको आधारमा नामाङ्कन हुनुपर्छ भनिरहेका छन् । यही मेसोमा एक नम्वर प्रदेशको  नाम किरात राख्नुपर्छ भनिरहेका छन् । संघीयताप्रति पार्टीगत धारणाअनुरुप नै नाममा पनि मतान्तर रहेको छ । 

सांसदहरुमा देखावटी रुपमा संघीयता पक्षधर, सारमा संघीयता विरोधी अनि रुपमा पहिचान पक्षधर, सारमा पहिचान विरोधी जस्ता दोहोरो चरित्रको कारण पनि मतदाताहरु भ्रमित भए । जनताले अधिकांश पहिचान विरोधी पार्टी र नेताहरुलाई जिताए । परिणामतः समयमा नामाङ्कन हुन सकेन । साथै जनअपेक्षाअनुरुप यसको न्वारन हुने संभावना न्यून देखिन्छ । 

इतिहास र सभ्यतालाई आधार मान्दा किरात नामाङ्कन गर्नु वैज्ञानिक र वस्तुवादी हुन्छ । यसले ऐतिहासिक पृष्ठभूमि र सभ्यतालाई सम्वोधन गर्दछ । समुदायगत वाहुल्यतालाई सम्मान गर्दछ । पूर्वी नेपालको ऐतिहासिक सभ्यतालाई स्वीकार गर्नु नै किरात नामकरण गर्नु हो । यो कुनै जाति, समुदाय र राष्ट्र विशेषको मात्र प्रतिनिधित्व गर्ने टुक्रे भावनात्मक पदावली हुँदा पनि होइन । ऐतिहासिक तथ्यहरुको अध्ययनले यही वस्तुगत यथार्थलाई प्रष्ट गर्दछ । 
अर्थात् पूर्वी नेपालको सन्दर्भमा तुलनात्मक रुपमा सिंगो समाजलाई एक सूत्रमा वाँध्ने ऐतिहासिक कडी नै किरात सभ्यता हो । यहाँको इतिहास, सभ्यता, भूगोल, जनसंख्या, धर्म, सँस्कृति, परम्परा र जीवनयापनका समग्र क्रियाकलापहरुको पद्यतिलाई नियाल्दा पनि किरात सभ्यतासँग धेरै आयामहरुमा मिल्दोजुल्दो देखिन्छ । योसँगै वहुसंख्यक जनसमुदायको राजनैतिक आकाङ्क्षा पनि यही रहेको छ । 
निश्कर्ष
इतिहास समकालीन समाजको ऐना हो । सभ्यता यसको आधारशिला वा जग हो । यसकारण ऐतिहासिक सभ्यताको आधारमा एक नम्वर प्रदेशको नामकरण गर्नु सही हुन्छ । पूर्वको सन्दर्भमा इतिहास, सभ्यता, भूगोल, जनसंख्या, स्थापित सँस्कृति, परम्परा र साझा मनोविज्ञानलाई समेट्ने माध्यम नै किरात सभ्यता हो । साँचो अर्थमा किरात भएपछि अरुमाथि अन्याय र विभेद लाद्ने भन्ने हुँदैन । 
किनकि किरातको उठान नै सवैखाले अन्याय, अत्याचार र असमानता विरुद्ध हो । न्याय र समानताको लागि हो । तसर्थ, प्राचीन किरात सभ्यताको जगमा उभिएर उत्पीडित वर्ग तथा राष्ट्रहरुको मर्म र भावनालाई सम्मान गर्नको निम्ति किरात नामकरण गर्नु नै तुलनात्मक रुपमा वस्तुवादी देखिन्छ । 
यद्यपि प्रदेश सभाको अंकगणितीय अवस्था हेर्दा यसैपाली नाम टुंगो लाग्ने देखिदैन । यही संविधानमा टेकेर नाम जुराउन सदनमा दुइ तिहाइ वहुमत चाहिन्छ । अरु भावनाको कुरा आत्मरति र जनता भ्रमित पार्ने नाटक मात्र हो । यो सच्चाइलाई किरात नाम चाहने मित्रहरुले सचेत ढंगले आत्मसात गर्न जरुरी छ । 
आगामी प्रदेशसभा निर्वाचनमा फेरि पनि आप्mनै पार्टी र चुनाव चिन्हको नाममा संघीयता र पहिचान विरोधीलाई जिताउने अनि किरात प्रदेश चाहियो भन्दै अर्थहीन डेलीगेशनको नौटंकी तथा कथित आन्दोलनको नाटकको कुनै टुक छैन । 
वस्तुतः संघीयता र पहिचान विरोधीलाई जिताउने मतदाताहरु स्वयं नै पहिचानको लागि डरलाग्दो भाइरस हुन् । किरात प्रदेश कि त सचेत मतदानबाट कि त निर्णायक आन्दोलनबाट मात्रै संभव हुन्छ, मुख्यमन्त्री,  प्रधानमन्त्री अनि पार्टी अध्यक्षहरुलाई भेटेर कदापि हुँदैन । यति न्यूनतम सचेतना सवैमा हुनु जरुरी छ ।

ताजा समाचार

ताजा समाचार