LIVE FM

यो सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? : प्रदीप ज्ञवाली

  • BFM
  •    
  • July 21, 2022

हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ?

  साउन ५, २०७९ बिहिबार १५:१३:२१ | 

unn.prixa.net

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

सांसद ज्ञवालीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्‍याउन नसक्नु लज्जास्पद भएको बताउनुभयो । सरकारको गैरजिम्मेवारपनले नागरिकलाई आहत तुल्याएको भन्दै उहाँले नागरिककाे समस्या समाधान गर्ने गरेर बढ्दो महँगीको राहतका प्याकेज उपलब्ध गराउने हिसाबबाट रुलिङ गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो । 

सांसद ज्ञवालीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत सरकारले नागरिकसँग लुट्न मूल्य नघटाइरहेको आरोप लगाउनुभयो । उहाँले किसानले मलखाद नपाइरहेको भन्दै सरकार यत्तिका दिनसम्म पनि गैरजिम्मेवार भएर बस्न नमिल्ने बताउनुभयो । 

उहाँले गठबन्धन सरकारले जनताका समस्या समाधान गर्न नसकेको भन्दै सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘बढ्दो महँगीबारे सरकार बेखबर देखिएको छ । आईओसीले डिजल १८ र पेट्रोलमा १५ रुपैयाँ घटाएर पठायो तर आज एक हप्ता भयो मूल्य घटाइएको छैन । बढेर आएको भए रातारात बढाइन्थ्यो । जनताको यो पीडाले हामी सबैलाई छुनुपर्छ कि पर्दैन ? यो साझा विषय होला ? मध्यम वर्गलाई समेत आच्छुआच्छु परिरहेको छ भने १७ प्रतिशतभन्दा बढी निरपेक्ष गरिबीको रेखामुनि रहेकालाई के भएको होला ? यस्तो विषयमा पनि विभाजित हुनुपर्ने आवश्यक हो र ? सत्तापक्षका कतिपय नेताहरूको संवेदनहीनताले आहत तुल्याएको छ । शैक्षिक सत्र सुरु भएको यत्तिको समयसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक दिन नसक्ने भन्दा लज्जास्पद कुरा के हुनसक्छ ? अहिले पनि किसानलाई मल दिन नसक्ने भन्दा गैरजिम्मेवार के हुन्छ । यो सरकार जनताबाट कर उठाउनको निम्ति मात्रै हो ? हतियार किन्न पैसा पुग्छ तर मल किन्न पैसा पुग्दैन ? सभामुख महोदय । सरकार गैरजिम्मेवार बनिरहेको छ । जनताको समस्या समाधान र राहत प्याकेजका बारेमा तत्काल रुलिङ होस् भन्ने आग्रह गर्दछु ।’

सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै नागरिकका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाउनुभयो । 

ताजा समाचार

ताजा समाचार