सीआईएन, काठमाडौं
प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा कम्युनिष्ट पार्टीहरूबीच सकेसम्म एकता नभए गठबन्धन गर्ने गरि आन्तरिक तथा बहुपक्षीय छलफल सुरु भएको छ ।
नेपाली काँग्रेसले सत्ता गठबन्धनभित्रैको तालमेललाई निरन्तरता दिने औपचारिक निर्णय गर्दा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी उत्साहित भए पनि भित्रभित्रै बाम एकताको छलफल चलिरहेको छ । सकेसम्म धेरै सिट जित्नुपर्ने दबाबका बीच दलहरूको आन्त्रिक तथा बाह्य छलफल बढिरहेको छ । हालको गठबन्धनबाट पनि स्थानीय सरकारमा अपेक्षाकृत नतिजा हात नपरेपछि माओवादी र नेकपा एस विकल्प खोजिरहेका छन् ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले वाम गठबन्धन वा एकताका लागि छलफल चलिरहेको स्वीकार गर्नुभयो । माओवादी केन्द्रले केन्द्रीय समितिबाटै काँग्रेस गठबन्धनमा इमान्दार नभएको निष्कर्ष निकाल्दै आवश्यकताका आधारमा बाम गठबन्धन गर्न सक्ने बाटो खुल्ला गरेको थियो । नेता नारायणकाजी श्रेष्ठले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक मञ्चबाटै एकताको प्रस्ताव गर्नुभयो । एमाले अध्यक्ष ओलीले पनि काँग्रेसलाई छोडेर आए छलफल गर्न सकिने जवाफ दिएपछि एकताको सम्भावनाबारे चर्चा सुरु भएको हो । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले वाम एकता पार्टीको सैद्धान्तिक प्राथमिकताको विषय रहे पनि व्यवहारिक रुपमा सबैले कमिकमजोरी सच्याउन जरुरी रहेको बताउनुभयो । स्थानीय तहको नतिजा पछि सङ्घ र प्रदेशमा कमजोर बन्न सकिने भयले नेकपा एमाले पनि बामपन्थी गठबन्धन चाहन्छ । तर माओवादी केन्द्र र नेकपा एसका शीर्ष नेताहरूसँगको अविश्वासका कारण तत्काल यो सम्भावना कमजोर देखिएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले विचार मिलेको खण्डमा एकताको ढोका खुल्लै रहेको तर यसैका लागि एमालेले छुट्टै समय नखर्चिने प्रष्ट पार्नुभयो । यही बीचमा नेकपा व्यँुताउने गरि छलफल पनि चलिरहेको छ । बाम एकताको चर्चा तुलनात्मक रूपमा चुनावको समयमा बढी हुन्छ । विश्लेषक मुमाराम खनालले यो विषय बामपन्थीको एकताभन्दा पनि बढी सिट ल्याउने विषयमा मात्रै केन्द्रीत भएको बताउनुभयो । तत्कालको परिस्थिति हेर्दा नेपालका सम्पूर्ण बामपन्थी पार्टीहरू एक भइहाल्ने अवस्था छैन । विश्लेषकहरू यसलाई सत्ता गठबन्धनभित्र धेरैभन्दा धेरै सिट मोलमोलाइका लागि उचालिएको विषय मात्रै भएको टिप्पणी गर्छन् ।