LIVE FM

शक्ति आर्जन गर्न एकीकृत हुँदै संसद् बाहिरका कम्युनिस्टहरू

  • BFM
  •    
  • July 21, 2022

आन्दोलनदेखि चुनावसम्म बहिस्कार गर्ने तयारी

संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरू फेरि एकीकृत भई शक्ति आर्जनको तयारीमा लागेका छन् । शक्ति आर्जन गर्नका लागि ती दलहरूले आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आगामी प्रदेश र सङ्घको चुनावसम्म बहिस्कार गर्ने तयारी गरेका हुन् । यसरी सङ्गठित हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी छन् ।

तत्कालीन विप्लव नेतृत्वको नेकपा प्रतिबन्धबाट फुकुवा भएपछि नै यी पार्टीहरूले रणनीतिक मोर्चा बनाएर एकीकृत हुने प्रयास गरेका थिए । उनीहरूले एमसीसी पारितसम्म नहुँदा आफ्ना सघंर्षका कार्यक्रम जारीसमेत राखेका थिए । तर एमसीसी पारितपछि सेलाएका पाँच पार्टी फेरि सङ्गठित भई अघि बढ्ने तयारी गरेका हुन् । गत बुधबार विप्लव नेतृत्वको नेकपा पार्टी कार्यालय बुद्धनगरमा बैठक बसेर पाँच पार्टीहरूले एकीकृत भई सङ्घर्षका कार्यक्रम ल्याउने निर्णय गरेका थिए ।

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल भने पाँच पार्टीको मोर्चा नयाँ नभएको बताउँछन् । उनले संसद् बाहिर भएका कम्युनिस्ट क्रान्तिकारीहरू ध्रुवीकृत हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘यो नयाँ होइन । पहिला पनि ६ पार्टी र २ मोर्चा गरेर ८ वटाको कार्यगत एकता थियो,’ गजुरेलले भने, ‘त्यो मोर्चाले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्ने क्रममा एमसीसीसम्म आइपुगेका थियौँ । एमसीसी पारित भएपछि कोही कता कोही कता भइयो । नियमित बैठक बस्न पाएनौँ । मोर्चाले  सक्रिय रूपमा काम गर्न पाएन ।’ अब भने राष्ट्रियता, जनजीविका र  जनतन्त्र लगायतका विषयमा चरणबद्ध कार्यक्रम ल्याउने गजुरेलले बताए ।

चुनावको रणनीतिबारे प्रश्न गर्दा गजुरेलले आगामी प्रदेश र सङ्घको चुनावमा कसरी जाने भन्ने विषयमा ठोस निर्णय भई नसकेको सुनाए । ‘हामीले चुनावसँग सम्बन्धित ठोस निर्णय गरेका छैनौँ । सरकारले चुनाव घोषणा गरेपछि पार्टीहरूले आ–आफ्नो निर्णय गर्न सक्ने भए,’ गजुरेलले भने, ‘सरकारले चुनाव घोषणा गरेपछि मात्रै के गर्ने भन्न सकिएला ।’ 

यस्तै विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चिरन पुनले पनि संसद्‍वादी दलहरूलाई नै चुनाव लागि नसकेकाले आफूहरूले ठोस निर्णय गरी नसकेको बताए । ‘अहिलेसम्म संसद्‍वादी दलहरूलाई नै चुनाव लाग्या छैन । हामीलाई झन् कहाँ लाग्नु ?’ पुनले भने, ‘सरकारले चुनावको मिति घोषणा गरेपछि एउटा समझदारी बनाएर जाने अवस्था हुन सक्छ । अहिले नै केही भन्न सकिएन ।’

संसद्‍बाहिर भएका कम्युनिस्ट पार्टीहरू कमजोर भई शक्तिविहीन अवस्थामा पुगेपछि मोर्चाबन्दी गरेर भए पनि शक्तिमा आउने दाउ गरेका छन् । त्यसका लागि एकीकृत र ध्रुवीकृत भई चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरी आन्दोलन गर्ने तयारी गरेका छन् । उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने क्रममा आगामी प्रदेश र सङ्घको चुनावसमेत बहिस्कार गर्न सक्ने आङ्कलन गरिएको छ । स्थानीय तह लगायत यसअघिका निर्वाचनलाई उपयोग गर्दा आशातीत नतिजा आउन नसकेको पार्टीहरूको बुझाई रहेको छ । बरु सङ्घर्षकै कार्यक्रम अघि सारेर नै शक्ति आर्जन गर्ने पार्टीहरूको तयारी छ ।

ताजा समाचार

ताजा समाचार