काठमाण्डौ ( आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार स् सबैको साझा सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।
नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । विभिन्न नीतिगत तथा संस्थागत प्रयास भइरहेका तर तुलनात्मक रुपमा महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रूपमा पछाडि परेका उहाँको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा सञ्चालित महिला लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन सबैको सामूहिक प्रयास आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभएको छ । हिंसा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, छाउपडीलगायत सामाजिक, सांस्कृतिक प्रथा अहिले पनि कायमै छन् ।
‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक ठाउँ तथा घर समाजमा अझै पनि महिलाहरू पूर्ण रूपमा सुरक्षित छैनन् । महिला तथा बालबालिका माथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकताका साथ काम गर्नुपर्नेमा महिला अधिकारकर्मीको जोड छ ।