LIVE FM

सम्बन्ध विच्छेदले बढ्दैछ ‘बालश्रम’

  • BFM
  •    
  • June 6, 2022

२२ जेठ, भोजपुर । श्रीमान्–श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ ।

बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने अर्कातिर बालापनमा बाबुआमाको मायाको अभावमा उनीहरु गलत सङ्गतमा समेत लाग्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा घरको मूली मान्छे जाने गरेका कारण पनि घर धान्नका लागि छोराछोरी श्रममा लाग्ने गरेको पाइन्छ । बेसाहरा बनेपछि उनीहरु विभिन्न क्षेत्रमा बालश्रम गर्न बाध्य हुने गरेका छन् । पछिल्लो समय विकृतिका रुपमा बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्‍याएको छ ।

यसले बालबालिकाकासँगै अन्य विभिन्न सामाजिक क्षेत्रमा पनि प्रभाव पारेको देखिन्छ । यही ढङ्गले अभिभावकमा हुने खटपट बढ्दै जाने हो भने यसले समाजमा निकै ठूलो असर पुर्‍याउने देखिएको छ ।

जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार एक महिनामा औसतमा १५÷१६ जनाले सम्बन्धविच्छेद गर्ने गरेका छन् । सम्बन्धविच्छेदका कारण बालबालिकाले अभिभावकको माया पाउन गाह्रो हुने, विद्यालय जान छाड्ने र बाँच्नका लागि पनि जस्तोसुकै जोखिमपूर्ण श्रममा पनि लाग्ने गरेको हुनसक्ने जिल्ला अदालत भोजपुरका स्रेस्तेदार नवराज कार्कीको भनाइ छ ।

बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने खालका काममा दिन प्रतिदिन जिल्लाका बालबालिकाको संलग्नता बढ्न थालेको छ । बालबालिकाको हकअधिकारको लागि सरकारी र गैरसरकारी निकायबाट केही प्रयास भए पनि त्यसले प्रभावकारीरुपमा काम गरेको देखिँदैन ।

यहाँ बालबालिकाको हकअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाको उपस्थिति न्यून नै छ । सरकारी तबरबाट केही हदसम्म बालश्रम अन्त्यको विभिन्न सचेतनामूलक क्रियाकलाप हुने गरे पनि त्यसको नतिजा प्रभावकारी देखिएको छैन । बाल सञ्जालको गठन गरेर केही सचेतनामूलक काम भए पनि पर्याप्त नभएको विज्ञहरु बताउँछन् ।

बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुनेगरी सामाजिक वा आर्थिक लाभका लागि श्रममा लगाउनुलाई कानूनीरुपमा बन्देज लगाइएको छ ।

ताजा समाचार

ताजा समाचार