डेढ–दुई सयबाट कसरी छानिन्छन् मिस नेपाल ?

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

एउटा बहुराष्ट्रिय कम्पनीको नियमअनुसार चल्ने र उसले भनेको मात्र मान्ने सुन्दरीले कसरी गर्लान् देशको प्रतिनिधित्व ?

हिडेन ट्रेजरले बर्सेनि आयोजना गर्दै आएको ‘मिस नेपाल’ प्रतियोगिताको उपाधि यस वर्ष नम्रता श्रेष्ठले जितिन् । अघिल्ला वर्षहरूमा जस्तो चमकधमक यस वर्षको प्रतियोगितामा देखिएन । कोभिडकै कारण सामान्य तवरमा गरिएको मिस नेपालको घोषणामा किन्डरगार्डेन शिक्षक नम्रतालाई गत वर्षकी मिस नेपाल अनुष्का श्रेष्ठले ताज पहि¥याइदिएकी थिइन् । 
मिस नेपाल २०२० को ग्रान्ड फिनालेमा आयोजक संस्था हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले यस वर्ष कोभिडका कारण निर्मित कठिन परिस्थितिमा आफूहरूले मिस नेपाल आयोजना गर्न सफल भएको सगौरव बताए । देशभरबाट दुई सय ५० आवेदनबाट अन्तिम प्रतिस्पर्धामा छानिएको उनको भनाइ थियो । उनले भने, ‘छानिएका प्रतिस्पर्धीलाई तीन हप्ताको भर्चुअल ट्रेनिङ र दुई हप्ताको रेसिडेन्सियल ट्रेनिङ गराएर काम गरेका छौँ ।

यो वर्ष अलि भिन्न प्रकारले आयोजना भएको छ ।’ तर, राजकर्णिकारले भनेको भिन्न प्रकारको आयोजना ट्रेनिङ मात्र हो कि अरू संरचना पनि हो ? प्रश्न यहाँनेर हो । उनले थपेका छन्, ‘मिस नेपालमा नेपाल टुरिजम बोर्डको सहकार्यमा मिस टुरिजम थपिएको छ नयाँ विधा । मिस टुरिजमको विजेताले नेपालको टुरिजममा सहयोग गर्नेछ । साथै अन्य विजयीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।’ तर, कस्तो खालको प्रतिनिधित्व हो ? केका लागि नेपालको प्रतिनिधित्व हो ?

सन् १९९४ मा रुवि राणाले पहिलोपटक उपाधि जितेदेखि २००१ मा बाहेक प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिता हुँदै आएको छ । हरेक वर्ष नेपाल सुन्दरी भनेर घोषणा गरिएकै छ । नेपाल सुन्दरीले नेपालको प्रतिनिधित्व गर्छिन् भनिन्छ । के साँच्चिकै नेपालको प्रतिनिधित्व गर्छिन् त ?

कवि तथा लेखक सरिता तिवारी प्रश्न गर्छिन्, ‘के कारणले नेपालको प्रतिनिधित्व गर्छिन् मिस नेपालले ? जसलाई नेपाली समाज के हो भन्ने थाहा छैन, उसले नेपालको प्रतिनिधित्व कसरी गर्न सक्छ ?’ अहिलेसम्म जति मिस नेपाल भए, उनीहरूको प्रायः एउटै जवाफ हुने गर्छ, ‘समाज सेवा’ । तिवारीकै शब्दमा प्रतिभा, बौद्धिकता र देशसेवाको रेडिमेड उत्तर दिएर बत्तीस दन्त देखाउँदै सुन्दरी बनेका युवतीहरू कहाँ गए ?

उनीहरू मात्र शृंगारको साधनलाई बेचेर कसरी नाफा कमाउने भन्ने व्यापारिक प्रयोजनका लागि तयार पारिएको वस्तुबाहेक अर्थोक नभएको भनाइ छ तिवारीको । मिस नेपाललाई जसरी प्रचार गरे पनि, जसरी विज्ञापन गरे पनि यो बहुराष्ट्रिय कम्पनीको विज्ञापनबाहेक केही नभएको कवि तथा लेखक सीमा आभास बताउँछिन् । ‘बहुराष्ट्रिय कम्पनीले आफ्नो उत्पादनका लागि यिनीहरूलाई पनि वस्तु बनाएका हुन्छन् । त्यो उत्पादन गर्ने उद्देश्यबाहेक केही होइन प्रतियोगिता,’ आभास भन्छिन्, ‘त्यो साँघुरो घेरो हो । त्यसैले महिलाको प्रतिनिधित्व या देशको प्रतिनिधित्व गर्छन् भन्ने भ्रमलाई फाल्नुपर्छ हामीले ।’

अहिलेको पुस्ताका तिवारी र आभास मात्र होइनन्, सुन्दरी प्रतियोगिताको यसअघि पनि थुप्रैपटक विरोध भएका छन् । मिस नेपाल १९९८ मा कार्यक्रमस्थल बाहिर विरोध भएको थियो । तर, त्यसलाई दबाइयो । ०५७ मा सुन्दरी प्रतितियोगिताविरुद्ध बानेश्वरमा विरोध प्रदर्शन भएको थियो । पछि प्रहरीले लाठीचार्ज गरेर इसास नेपालका उपाध्यक्ष रुद्र खरेलको प्रहरीले खुट्टा नै भाँचिदिएको प्रसंग मार्क्सवादी चिन्तक निनु चापागाईंले आफ्नो पुस्तक ‘सन्दर्भ : संस्कृति र सांस्कृतिक रूपान्तरण’मा उल्लेख गरेका छन् । तर, पुँजीवादको अगाडि प्रहरी प्रशासन तथा राज्य नै घुँडा टेक्न तयार भएको या तयार हुने गरेको आसय चापागाईको पुस्तकमा भेटिन्छ ।

उनी आफ्नो पुस्तकमा लेख्छन्, ‘हिजोआज सुन्दरी प्रतियोगितामा जे भइरहेको छ, त्यो निश्चित आर्थिक–व्यापारिक हितबाट प्रेरित भएर गरिएको कार्य मात्र हो । यस्ता प्रतियोगिताले मानवीय सौन्दर्यको प्रतिनिधित्व गर्दैनन् र त्यतातिर यिनको चासो पनि छैन । यिनले यथार्थमा सौन्दर्यसम्बन्धी विकृत धारणाहरू उत्पन्न गर्ने र विस्तार गर्ने कार्य मात्र गर्दछन् ।’
सन् २०१८ मा मिस नेपाल भइन् शृंखला खतिवडा ।

उनको अन्तर्वार्ताका लागि हामीले कोसिस गर्‍यौँ । हिडेन ट्रेजरको अफिसमा फोन गर्‍यौँ । अफिसको एक कर्मचारीले मेलमा के–के सोध्ने विवरण पठाउनुस् भने । के–के सोध्ने स्पष्ट भएपछि मात्र अन्तर्वार्ता दिलाउन सकिने ती कर्मचारीको आसय थियो । भनिएबमोजिम प्रश्नहरू पनि पठाइयो । तर, कुनै रिप्लाई आएन । सायद मापदण्डभन्दा बाहिरको विषय भएकाले रिप्लाइ आएन । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल