महाकाली करिडोरको १२ वर्षमा ३३ प्रतिशत प्रगति, धनगढीमा प्रधानमन्त्री ओलीले दिएको बाचा पुरा हुने छ त छाँट ?

Radio Budhinanda FM -   BFM || २०७७ माघ १२ सोमबार

सरेन जैरू, धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २४ गते धनगढीमा आयोजना गरिएको नेकपाको जनसभालाई सम्बोधन गर्दै महाकाली करिडोर निर्माणको कामलाई तीव्रता दिइने बाचा गरेका थिए।

तर प्रक्रियागत ढिलाइका कारण प्रधानमन्त्रीको दावीअनुसार महाकाली करिडोर निर्माणको कामले न गति लिएको छ, न त बाधाअड्चन हटाउने प्रक्रिया अगाडि बढाइएको छ।

१५ वर्षीय योजनाको रूपमा आर्थिक वर्ष २०६५/६६ सालमा निर्माण थालिएको महाकाली करिडोरको निर्धारित अवधि सकिन ३ वर्ष मात्र बाँकी रहेका बेला ३३ प्रतिशत मात्रै कार्यप्रगति भएको छ।

कञ्चनपुरदेखि दार्चुलाको तिङकरसम्मको ४ सय २५ किलोमिटरको महाकाली करिडोरअन्तर्गतको १ सय ४० किलोमिटर ट्रयाक खुलेको छ भने, थप १ सय १७ किलोमिटर ट्रयाक खोल्ने प्रक्रिया भने रूख कटानको सहमति नहुँदा अलपत्र परेको छ।

बहुवर्षीय ठेक्काअन्तर्गत थप १ सय १७ किलोमिटर ट्रयाक खोल्न ९० करोड बजेट माग गरिएकोमा चालु आर्थिक वर्षमा सरकारले ३१ करोड विनियोजन गरेको छ। तर ’राइट अफ वे’ मा पर्ने रूखहरूको कटानको लागि वन विभागसँग सहमति हुन नसक्दा चालु आर्थिक वर्षको छ महिना बितिसक्दा पनि निर्माण कार्य अगाडि बढेको छैन भने, विनियोजित बजेट फ्रिज हुने सम्भावना बढेको छ।

महाकाली करिडोर दार्चुला तिङ्कर योजनाका प्रमुख अच्युतविलास पन्तले वन क्षेत्रमा रूख कटानको लागि आवश्यक प्रक्रिया अघि बढाइएको भएपनि पूर्णता पाउन भने नसकेको बताए। थप ट्रयाक खोल्नको लागि नयाँ ठेक्का व्यवस्थापन गर्नुपर्छ, उनले भने “त्यसको लागि पहिला रूख कटान गर्नुपर्छ, हामीले प्रक्रिया बढाएका छौँ।“ 

अहिले थालिएको प्रक्रियाअनुसार रूख कटानी आदेश प्राप्त भएमा दार्चुलामा ३४ किलोमिटर, डडेल्धुरामा, १४ बैतडीमा, ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडकको ट्रयाक खुल्ने योजना कार्यालयले जनाएको छ।

वन डिभिजन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले महाकाली करिडोर दार्चुला तिङ्कर योजनाले ’राइट अफ वे’ मा पर्ने रूखको संख्या यकिन गरिदिन पठाएको पत्राचार बमोजिम मूल्याङ्कन गरेर सम्बन्धित निकायमा पठाइसकिएको बताए। 

त्यसैगरि डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले ’राइट अफ वे’ मा पर्ने रूखको संख्या यकिन गरेर पठाइएपनि रूख कटानका लागि मन्त्रीपरिषदबाट निर्णय आउन बाँकी रहेको बताए। 

आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरू भएको महाकाली करिडोर योजना आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरिसक्ने लक्ष्य थियो। तर प्रक्रियागत ढिलासुस्तीका कारण लक्ष्य प्राप्तीमा ढिलाइ भइरहेको छ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल