कम्युनिस्ट पार्टीमा राजावादीको घुसपैठ

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

मोहनविक्रम सिंह२०७७ मंसिर २८ गते ६:४९ मा प्रकाशित

मोहनविक्रम सिंह

रायमाझीको स्पष्ट नै राजावादी लाइन थियो । डिपीको कांग्रेस पक्षीय थियो । तर, यो दुवैको मत दुवैका विचारहरूमा अकस्मात् भएको विचार धारात्मक परिवर्तन थिएन । दुवै जनाका विचारहरू पहिलेदेखि नै आआफ्ना रूपमा थिए । तर, जुन बेला देशमा नेका र राजाका बीचमा एकता कायम हुँदै गएको थियो, वा जुन बेला उनीहरूका बीचको विरोध तीब्र रूपमा वा प्रत्यक्ष रूपमा अगाडि आएको थिएन, त्यसबेला पार्टीभित्र पनि यी दुवै विचारधाराका बीचमा एकता कायम भएको थियो वा दुवैका बीचमा प्रत्यक्ष विरोध देखा परेको थिएन ।

जनकपुर प्लेनमपछि देशमा एकातिर प्रतिक्रियावादी र ‘पुँजीवादी’ शक्तिहरूका विरुद्ध आन्दोलन बढाउने र प्रजातान्त्रिक प्रणालीलाई मजबुत पार्न पहल गर्ने आवश्यकता अगाडि बढ्दै जान्छ । त्यही सिलसिलामा २०१६ पुसमा केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकमा पहिले माझीद्वारा राजनीतिक प्रस्ताव पेस गरियो । त्यो प्रस्तावमा मुख्यतः नेकाका कमजोरीहरूको आलोचना गरिएको थियो र प्रतिक्रियावादी राजावादी शक्तिहरूको विषयमा मौनता अपनाइएको थियो । त्यसरी त्यो दस्तावेज राजापक्षीय छ भनेर अस्वीकार गरियो । डिपीद्वारा अर्को दस्तावेज पेस गरियो । त्यो दोस्रो दस्तावेजमा प्रतिक्रियावादी दरबारिया शक्तिहरूले प्रजातन्त्रका विरुद्ध खेलिरहेको भूमिकालाई स्पष्ट रूपमा ल्याइएको थियो र त्यसका विरुद्ध प्रजातान्त्रिक आन्दोलनको विकासमा ध्यानदिने कुरामा जोड दिइएको थियो, जो कि सहीथियो । तर, त्यो रिपोर्टमा बताइए अनुसार प्रजातान्त्रिक आन्दोलनको विकासमा जोड दिने नाममा कम्युनिष्ट पार्टीको भूमिका मुख्यतः ने.का. को सरकारलाई अड्याउन प्रयत्न गर्ने र ने.का.को विरुद्ध कुनै आन्दोलन अगाडि नबढाउनेसम्म मात्र सीमित रहन्थ्यो । स्वयं प्रजातान्त्रिक विकासको दृष्टिले पनि त्यसप्रकारको तरिका सही हुन सक्दैनथ्यो ।

किनभने नेकाको सरकारद्वारा जसरी अनेक प्रकारका भ्रष्ट र अप्रजातान्त्रिक तरिकाहरू अपनाइँदै थिए र त्यसबाट जनतामा व्यापक असन्तोष पैदा भइरहेको थियो, त्यो अवस्थामा त्यो असन्तोषलाई कम्युनिष्ट पार्टीले संगठित रूपमा प्रगतिशील दिशातिर अगाडि नबढाएमा त्यसबाट प्रतिक्रियावादी शक्तिहरूले फाइदा उठाउँदथे । त्यसकारण नेकाको सरकारको जोडदार विरोधले संसदीय पद्धति कमजोर हुन्छ भन्ने तर्क गलत थियो । यो तर्क सही त्यसबेला मात्र हुन्थ्यो, जब डा. रायमाझीको प्रस्तावअनुसार खालि नेकाको सरकारको विरोध मात्र गर्ने गरेर प्रतिक्रियावादी र दरवारिया शक्तिको गतिविधिप्रति बिल्कुल चुप रहिन्थ्यो । आखिरमा डिपीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि त्यसमा कांग्रेसपक्षीय धारा छ भनेर स्वीकृत भएन ।

अन्त्यमा केन्द्रीय कमिटीले आधारभूत विषयहरूलाई नछोइकन, खालि साधारण दैनिक विषयहरूमा राजनीतिक प्रस्ताव पास गर्ने निर्णय ग¥यो । आधारभूत विषयहरूमा प्रस्ताव तयार पार्न, जसमाथि तेस्रो महाधिवेशनमा विचार गरिन्थ्यो एउटा दस्तावेज कमिटीको गठन गरियो ।

२. पिबीका सदस्यहरूको आत्मालोचना र आलोचना
त्यो बैठकमा दोस्रो महाधिवेशनपछि प्रथमपल्ट पोलिटब्युरोका सदस्यहरूको आत्मालोचना र आलोचना गरियो । ती आलोचनामा पुष्पलालको विषयमा व्यक्तिवादिता, नेतृत्वको महत्वकांक्षीसम्बन्धी, तुल्सीलालको पार्लियामेन्टरी कार्यहरूसम्बन्धी, माझीको राजावादी रुझानसम्बन्धी र डिपीको कांग्रेसपक्षीय रुझानसम्बन्धी प्रमुख थिए । ती आलोचनाहरू दुई प्रकारका थिए– संगठनात्मक तथा सैद्धान्तिक र राजनीतिक । पुष्पलाललाई मुख्यतः कैयौँ संगठनात्मक र व्यावहारिक विषयमा आलोचना गरिएको थियो, डिपी र रायमाझीलाई गलत सैद्धान्तिक तथा राजनीतिक सोचाइहरूका लागि ।

३. राजावादी र कांग्रेसपरस्त रुझानहरूमा विभाजन
त्यो बैठकले एउटा कुरा प्रष्ट ग¥यो । त्यो कुरा यो थियो कि, जबकी पहिले दोस्रो महाधिवेशनदेखि नै, डा. रायमाझी र डिपी पार्टीभित्र एकै किसिमले एउटै विचारधारा अनुसार काम गर्दै आएका थिए भने, त्यो बैठकमा उनीहरूमा स्पष्ट नै दुइटा बेग्लाबेग्लै मतहरूदेखापरे, जसमा रायमाझीको स्पष्ट नै राजावादी लाइन थियो । डिपीको कांग्रेस पक्षीय थियो । तर, यो दुवैको मत दुवैका विचारहरूमा अकस्मात भएको विचार धारात्मक परिवर्तन थिएन । दुवै जनाका विचारहरू पहिलेदेखि नै आआफ्ना रूपमा थिए । तर, जुन बेलादेशमा नेका र राजाका बीचमा एकता कायम हुँदै गएको थियो, वा जुन बेला उनीहरूका बीचको विरोध तीव्र रूपमा वा प्रत्यक्ष रूपमा अगाडि आएको थिएन, त्यसबेला पार्टीभित्र पनि यी दुवै विचारधाराका बीचमा एकता कायम भएको थियो वा दुवैका बीचमा प्रत्यक्ष विरोध देखापरेको थिएन । तर, अब जब देशमा नेका र राजावादी शक्तिहरूका बीचको विरोध स्पष्ट र तीव्र बन्दै गइरहेको थियो, पार्टीभित्र यी दुवै गलतधाराहरूबीचको एकता पनि कायम रहन सकेन र दुवै जना बेग्लाबेग्लै रूपमा देखिए ।

४. प्रतिगामी शक्तिहरूको गतिविधिमा बृद्धि
केन्द्रीय कमिटीको त्यो बैठकपछि देशमा राजनीतिक स्थितिले झन्झन् गम्भीर रूप लिन थाल्दछ । एकातिर नेकाको हमेशाको फुटपरस्त अहंवादी नीति र सरकारमा गएपछि उसले गरेका अप्रजातान्त्रिक र जनविरोधी कार्यहरू गण्डक, डाल्डा आदि विषयहरूमा एकाध महत्वपूर्ण आन्दोलनहरू भएता पनि दोस्रो महाधिवेशनदेखि समाप्त भएको जनसंघर्षकोे परम्परा, (जसले गर्दा कांग्रेस सरकारका विरुद्ध पैदा भएको असन्तोषबाट प्रगतिशील रूप नदिएर प्रतिक्रियावादी शक्तिहरूलाई मद्दत पुग्दछ), स्वयं कम्युनिस्ट पार्टीले दोस्रो महाधिवेशनदेखि नै प्रतिक्रियावादी र राजावादी शक्तिहरूका विरुद्ध लिँदै आएको ढुलमूल र दक्षिणपन्थी अवसरवादी, किसान संगठन र जनसंघर्षको भूमिकालाई खतमपार्ने नीति, जसले गर्दा दोस्रो महाधिवेशनको बेला स्वयं राजावादी पुनरुत्थानवादी शक्तिहरूको विरुद्ध कम्युनिस्ट पार्टीले गर्दै आएको पहरेदारी मुख्यतः जुन कारणले गर्दा राजावादी शक्तिहरूले बारम्बार हार खाँदै जानुपरेको थियो, पनि राजावादी शक्तिहरू शक्तिशाली बन्दै जान्छन्, कैयाँै तथाकथित प्रजातान्त्रिक पार्टीहरूले पनि राजाको तरफदारी गर्न थाल्दछन् । यसरी नेपालको राजनीतिमा पुनरुत्थानवादी, राजावादी र प्रजातान्त्रिक शक्तिहरूबीचको संघर्षले चरम रूप लिन थाल्दछ । त्यो अवस्थामा देशमा प्रतिक्रियावादी शक्तिहरूले राजाको नेतृत्वमा प्रजातान्त्रिक प्रणाली र जनताद्वारा निर्वाचित सरकारको विरुद्धमा षडयन्त्रहरू गर्न थाल्दछन् । त्यहीअनुसार दक्षिणपन्थी पुनरुत्थानवादी शक्तिहरू झन् जोडदार रूपमा संगठित हुन थाल्दछन् ।

दरबारमा संसदका विरुद्ध अनेक अनेक प्रकारका षडयन्त्रहरू चल्न थाल्दछन् । नेपालगञ्जमा श्री ५ महेन्द्रले सरकारका विरुद्ध आफ्नो असन्तोष प्रकट गरेर प्रजातन्त्रमाथिको आफ्नो हमलालाई संकेत गर्दछन् । काठमाडौंमा जनहित संघको नेतृत्वमा, जसलाई दरबारद्वारा नेतृत्व गरिएको थियो, ले विर्ता प्रथा कायम होस्, आदि प्रतिक्रियावादी नारालाई अगाडि राख्दै सरकारको विघटनको माग गरे प्रजापरिषद्, संयुक्त प्रजातन्त्रपार्टीहरूले प्रजातान्त्रिक सहारामा जस्तो सिधै राजाद्वारा सञ्चालित पार्टीको साथमा संयुक्त मोर्चा कायम गरेर सरकारको विघटनको माग गर्न थालेका थिए । त्यही बेला राजाको इसारामा बझाङ काण्ड भयो । पं. १ मा राजाका मान्छेहरूले काम गरिरहेका थिए । योगी नरहरिनाथ, कर्मवीर, महामण्डल आदिका राजापक्षीय गतिविधि पनि लुकेका थिएनन् । स्वयं संसदका कैयाँै सदस्यहरूले सिधै राजाको शासनको माग गर्न थालेका थिए । अर्कातिर नेकाले आफ्ना अप्रजातान्त्रिक जनविरोधी र फूटपरस्त नीतिले प्रतिक्रियावादी शक्तिहरूको लागि काम गर्न झन् सजिलो गराउँदै लगेको थियो ।

५. केन्द्रीय नेतृत्वद्वारा ‘जनक्रान्ति’ को नाममा राजाको प्रत्यक्षशासनको समर्थन र अल्पमतपक्षद्वारा विरोध 
यो पृष्ठभूमिमा जबकी कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन चाँडै अगाडि आइरहेको थियो, हामीले आफ्नो आगामीनीतिलाई धेरै गम्भीरताका साथ निर्धारित गर्नुपर्ने आवश्यकता थियो । त्यसैका लागि भाद्र ०१७ को अन्तिम सप्ताहमा काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बस्यो । त्यो बैठकमा तेस्रो महाधिवेशनमा विचार गर्नका लागि राजनीतिक प्रस्ताव र पार्टीको विधान प्रस्तुत गरियो ।

राजनीतिक प्रस्तावमा, नेकाको सरकार र पुँजीपति वर्गप्रति पार्टीको नकारात्मक नीति थोरबहुत मात्रामा सही किसिमबाट पेस गरिएको थियो । नेकाले त्यसबेला विभिन्न क्षेत्रहरूमा जुन अप्रजातान्त्रिक र जनविरोधी नीतिहरू अपनाइरहेको थियो, त्यसको आलोचना गरिएको थियो । तर, अर्कातिर गत १० वर्षको राजनीतिक विकासलाई बिल्कुल नकारात्मक रूपमा पेस गरिएको थियो । यस्तो देखाइएको थियो, मानौँ गत १० वर्षमा देशमा बर्बादीहरू मात्र बढे । नेकाको सरकारका पनि खालि नकारात्मक पहलूहरूलाई मात्र अगाडि ल्याइएको थियो । पहिलेको अस्थिर राजनीतिक परिस्थितिको तुलनामा देशमा प्राप्त सफलताहरूमा केही प्रकाश हालिएको थिएन । नेकाको सरकारको नकारात्मक तरिकाले मात्र आलोचना गरिएको थियो । त्यसबाट यस्तो देखिन्थ्यो, मानौँ कम्युनिस्ट पार्टी पनि त्यो सरकारको विघटनको माग गर्न गइरहेको थियो ।

एकातिर नेकाको सरकारप्रति पूर्ण नकारात्मक दृष्टिकोण अपनाएर देशको प्रजातान्त्रिक प्रणालीका विरुद्ध संगठित र सक्रिय हुँदै आइरहेको प्रतिक्रियावादी राजावादी शक्तिहरूको भण्डाफोर गर्ने, उनीहरूले अफ्ना प्रतिक्रियावादी उद्देश्यहरूको पूर्तिका लागि गरिरहेको सरकारको विघटनको मागको विरोध गर्ने र त्यसबाट प्रजातान्त्रिक प्रणालीको रक्षा गर्ने विषयमा पार्टीलाई उनीहरूका विरुद्ध क्रियाशील गराउने विषयमा बिल्कुल मौनता अपनाइएको थियो । एकातिर प्रतिक्रियावादी जुन राजावादी शक्तिहरूको प्रजातान्त्रिक प्रणाली र निर्वाचित सरकारलाई खतम पार्न भइरहेको प्रयासप्रति मौन रहेर, अर्कातिर नेकाको सरकारको खालि नकारात्मक तरिकाले मात्र विरोध गर्नुको बास्तविक अर्थ के हुन्थ्यो ?

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल