भोकमरी घटाउने केही उपाय

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २५ बिहिबार

केबी बस्नेत२०७७ मंसिर २५ गते ७:११ मा प्रकाशित

केबी बस्नेत

कृषिको ठोस विकास गर्न आवश्यक छ जसका लागि एकतर्फ कृषिको आधुनिकीकरण, विशिष्टीकरण र व्यवसायीकरण गर्न आवश्यक छ भने अर्कोतर्फ सहुलियत दरमा कृषि ऋण तथा कृषि सामग्रीहरूको सुव्यवस्था गर्न जरुरी छ । यो बाहेक विद्यमान जलस्रोतको सही परिचालन गर्नसके सिँचाइको विकास भई कृषि उत्पादन बढाउन सकिन्छ र भोकमरी पनि घटाउन सकिन्छ ।

अहिलेको विश्वमा कृषिको आधारमा खासगरी ३० जातिका अन्नबाली खाद्यान्नको रूपमा प्रचलनमा रहे पनि तिनीहरूमध्ये क्यालोरीका लागि धान, मकै र गहुँको बढी प्रयोग पाइन्छ । कृषिविज्ञहरूका अनुसार विश्वमा आधाभन्दा बढी जनसंख्यालाई यी तीन बालीले क्यालोरी उपलब्ध गराउने गरेको छ । विश्वखाद्य संगठनका अनुसार विश्वमा मानव जातिलाई पुग्ने खाद्यान्न उत्पादन गरिए पनि यहाँका ८० करोड जनता भोकमरीबाट पीडित छन् । जसमध्ये ६० प्रतिशत महिला छन् । वस्तवमा विश्वमा बर्सेनि औलो, क्षयरोग र एड्सबाट मर्नेभन्दा पनि भोकमरीबाट मर्ने जनसंख्या बढी छ ।

उक्त संगठनका अनुसार सन् २०५० सम्म विश्वको जनसंख्यालाई आवश्यक खाद्यान्न ६० प्रतिशतले वृद्धि गर्नुपर्दछ । तर, दुःखको कुरा त के छ भने जलवायु परिवर्तनको सबै भन्दा गम्भीर असर कृषि क्षेत्रमा परिरहेको छ । उक्त संगठनका अनुसार जलवायु परिवर्तनको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट हो । स्थानीय विशेषता रहेका अन्नबालीहरूको विस्तारै उतपादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशोषतायुक्त माटोको क्षमतामा ह्रास आउनु, रैथाने जातका बिउ–वीजन विस्तारै लोप हुँदै जानु वर्तमान शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती हो ।

हाल विद्यमान भोकमरीको अन्त्यका लागि उक्त संगठनले विश्वका १ सय ३० मुलुकमा शून्य भोकमरी अभियान सञ्चालन गरिरहेको छ । यसै गरी खाद्यान्न संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध सामना गर्नका लागि प्रत्येक १६ अक्टोबरको दिन विश्व खाद्य दिवस मनाइन्छ । परन्तु खाद्य सुरक्षा विषयलाई राष्ट्रिय कार्यक्रममा आन्तरीकरण गर्ने, खाद्य सुरक्षाका लागि चेतना तथा क्षमता विस्तार गर्ने, उत्पादन क्षेत्रमा प्रति एकाइ उत्पादकत्व बढाउने नीति तथा कार्यक्रमहरू कार्यान्वयन क्षमता विकास गर्ने काम आफैँमा चुनौतीपूर्ण छ । विश्वमा विभिन्न कारणले गर्दा भोकमरीको समस्या बढेको छ । जसमध्ये गरिबी, पछौटेपन, जलवायु परिवर्तन, बसाइँसराइ र दैवीप्रकोप प्रमुख छन् । केही वर्षअघि भोकमरी न्यून गर्न विश्वका १ सय ९३ राष्ट्रहरू मिलेर सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो । तर, यो व्यवहारमा लागू हुन सकेको छैन ।

नेपाल विविध हावापानी र भौगोलिक अवस्था भएको देश हुनाले यहाँ विभिन्न किसिमका वनस्पति उम्रनु स्वाभाविक हो । तर दुर्भाग्य नै भन्नुपर्छ प्रत्येक वर्ष अन्य देशहरूबाट अर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयत गरिन्छ । एकातिर यहाँको जग्गा बाँझो र अर्ध–बाँझो राख्ने चलन दिनप्रतिदिन बढिरहेको छ भने अर्कोतिर मौलिक कृषि प्रणाली लोप हुँदै गएको छ । यसबाट कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ । पहाडी जिल्लाका अधिकांश जमिनमा उपयुक्त किसिमले गरा सुधार नगरी खेती गर्नाले प्रत्येक वर्ष यहाँको मलिलो माटो बगेर अन्य देशहरूमा जान्छ । वास्तवमा १ मिटर क्षेत्रफल जमिनको माटो बग्दा १० केजी नाइट्रोजन, ६ केजीफस्फोरस र १५ केजीपोटास नाश हुन्छ । फलतः यस्ता जमिनमा धेरै मिहिनेत गर्दा पनि किसानहरूलाई बिहान–बेलुकाको छाक टार्न पनि कठिन हुँदै गएको छ ।

धेरैजसो किसानलाई स्थानीय रूपमा प्रकृति प्रदत्त खाद्य वनस्पतिको उपभोगबारे राम्रो ज्ञान छैन । यो बाहेक बाँझो भिर तथा पाखालाई हराभरा पारी त्यसमा खाद्यवनस्पतिको उत्पादन गरी स्थानीय रूपमा पोषणयुक्त वनस्पति प्राप्त गर्ने अवस्थालाई सुलभ बनाउन पनि सकिएको छैन । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन आवश्यक छ । वर्तमान समयमा यहाँका धेरै किसानहरू आफ्नो जग्गा नभएर विनाकाम भोको बस्नुपरेको छ । त्यसैले मौलिक हकसम्बन्धी कानुन बनेर मात्र पुग्दैन कार्यान्वयन पनि हुनुपर्छ । विश्व खाद्य संगठनको एक प्रतिवेदनअनुसार प्रत्येक वर्ष उत्पादित एकतिहाइ खाद्यान्न खेर जान्छ । त्यसैले प्रत्येक देशले उत्पादित खाद्यान्नको उपयुक्त किसिमबाट सुरक्षा गर्नसके विद्यमान भोकमरी केही मात्रामा घटाउन सकिन्छ ।

सरकारले जमिनलाई कृषिक्षेत्र, आवास क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला तथा ताल क्षेत्र, सार्वजनिक उपयोगका क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक कमहत्वका क्षेत्र गरी नौ क्षेत्रमा वर्गीकरण गरेको छ । सरकारको उक्त काम प्रशंसनीय भए पनि कार्यान्वयन पक्ष सवल हुन जरुरी छ । वस्तुतः माथि वर्गीकरण गरिएका जग्गाजमिनलाई सोहीअनुसार प्रयोग गर्न सक्नुपर्छ । उदाहरणका लागि कृषिक्षेत्रको रूपमा वर्गीकरण जमिनमा गृह निर्माण तथा अन्य व्यवसाय गर्नदिनु हुँदैन । हाल पनि दुईतिहाइ जनता कृषिमा आश्रीत छन् । तर उक्त क्षेत्रका लागि छुट्याएको बजेट पर्याप्त छैन । त्यसैले आगामी वर्षहरूमा बजेट बढाई अनुसन्धान कार्यलाई जोड दिएमा कृषि क्षेत्रको विकास गरी भोकमरीको समस्या न्यून गर्न सकिने कुरामा दुईमत हुन सक्दैन ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल