नेपाली साहित्यमा उपेक्षित नारीपात्र यशोधरा

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १५ शनिवार

नेपाली साहित्य दिनानुदिन सम्पन्न र समृद्धशाली हुँदै गएको तथ्य सर्वविदित छ। यसको विकासक्रम तीव्र ढंगबाट भइराखेको छ। नेपाली साहित्यका हरेक विधामा अत्यन्त प्रभावशाली र प्रेरणादायक रचनाहरू दिनप्रतिदिन प्रकाशित भइराखेका छन्। कुनै यस्तो छैन जुन दिन नेपाली साहित्यको कुनै न कुनै विधामा रचित रचनाको विमोचन समारोह भएको नहोस्।

आधुनिक कालमा उपेक्षित नारी पात्र थिइन् योगमाया तर प्रसिद्ध लेखिका नीलम कार्की निहारिकाले उनको योगदानलाई दर्शाउँदै ‘योगमाया’ उपन्यास लेखेर चर्चामा ल्याइन्। तर रामायणको पौराणिक पात्र उर्मिला तथा ऐतिहासिक पात्र यशोधराका बारेमा नेपाली साहित्यमा कुनै कालजयी कृतिको रचना प्रकाशित हुन सकेको छैन। जहाँसम्म नेपाली साहित्यको संक्षिप्त सर्वेक्षण गर्दा थाहा पाएको छु प्रसिद्ध गीतकार एवं प्रख्यात कवि कालीप्रसाद रिजालले यशोधराको कारुणिक जीवनको काव्यात्मक एवं लयात्मक वर्णन गरेर यशोधरा नामक गीति काव्य नाटक रचना गरेका छन् जुन प्रशंसित भइसकेको छ।

बुद्धत्व प्राप्त गरेपछि यशोधरालाई भेट्न पुग्नुको दृश्य झनै कारुणिक हुन गयो। महिला सशक्तीकरणको यो एउटा सबल र सशक्त पक्ष हो। यशोधराको प्रेम बुद्धप्रति नि:स्वार्थ थियो।

यस प्रसंगमा कुरा के कोट्याउन खोजिएको छ भने रामायणका निस्मृत पात्र उर्मिलाको भानुभक्तीय रामायणबाहेक कहीँ चर्चा भएको पाइँदैन। साहित्यको कुनै पनि विधामा उनको चारु चरित्रको चर्चा नहुनु चिन्ताको विषय हुन गएको छ। त्यस्तै सिद्धार्थ गौतमकी पत्नी यशोधरालाई चित्रित गर्दै कुनै अन्य साहित्यिक कृति प्रकाशित भएको छैन। संसारलाई थाहा छ कि गौतम बुद्धको जन्म नेपालको लोभलाग्दो ठाउँ लुम्बिनीमा भएको थियो, लुम्बिनी संसार प्रसिद्ध ठाउँ भइसकेको छ। यो विश्वसम्पदा सूचीमा पनि सूचीकृत भइसकेको छ। छिमेकी मुलुक भारतको हिन्दी साहित्यमा त्यहाँका राष्ट्रकवि मैथिली गुप्ताले उर्मिलाको चरित्रलाई उदाहरणीय र उज्यालो पार्नका लागि सककेत महाकाव्य रचेर एउटा कालजयी कृतिको रचना गरिसकेका छन् भने सिद्धार्थ गौतम पत्नी यशोधराको चरित्रलाई महान् एवं अमर बनाउन यशोधरा खण्डकाव्यको रचना गरेको धेरै वर्ष बितिसकेको छ।

ऐतिहासिक नारी पात्र नेपाली साहित्यमा उपेक्षित हुनु कदापी सराहनीय साहित्यिक काम होइन। सिद्धार्थ गौतमले यशोधरालाई परित्याग गरेर निर्वाण प्राप्तिका लागि महामिनिष्क्रमण गर्नु नारी मर्यादाविपरीत काम हुन गयो कि भने कतिपय संवेदनशील मनलाई दु:खानुभूति हुनु सर्वथा स्वाभाविक हो। हुन त उनले उनलाई सधैंका लागि परित्याग गरेर गन्तव्यमा गएका थिएनन्। त्यो कालखण्ड बाह्र वर्षको थियो। अचेलको संस्कृतिमा दिनहुँ पत्नी परित्यागको चियोचर्चा सुनिन्छ तर यशोधराजस्ती महान् नारीपात्र उपेक्षित हुने संसार सुहाउँदो सराहनीय काम भएन भन्ने कुरा कहीँ न कहीँ अवश्यमेव मानवीय संवेदनशीलताको सीमा उल्लंघन भएको जस्तो लाग्दछ। यशोधरासँग सिद्धार्थ गौतमले विधिविधान अनुसार नै विवाह गरेका थिए।

यशोधराले राजा सुपबुद्ध र रानी पमिताको कोखबाट जन्म लिएकी थिइन्। सोह्र वर्षको उमेरमा उनको बिहे भएको थियो। यता सिद्धार्थ गौतम राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रूपमा जन्म लिएका थिए। दुईवटै राजपरिवारमा वैवाहिक सम्बन्ध स्थापित भएको थियो। दुवै राज्यहरूमा खुसियाली छाएको थियो। उनको दाम्पत्य जीवनका प्रारम्भिक केही दिनहरू सुखद् नै थिए। राजदरबारमा राजर्सी सुखसयलको भरपूर उपयोग र उपभोग गर्दै पति–पत्नीले पुत्र राहुल जन्माए। यति हुँदाहुँदै पनि अकस्मात उनको वैवाहिक जीवनमा बज्रपात भयो। सिद्धार्थ गौतमले परिनिर्वाण प्राप्तिका लागि यशोधरालाई परित्याग गर्न पुगे। यशोधरा महान् नारी पात्र भएकाले उनले कुनै गुनासो र गन्थन गरिनन्। एक शब्द अपशब्द र अभद्रको उच्चारण पनि गरिनन्। कुनै उपालम्भ पनि दिइनन्। यो महान् नारी पात्रको एउटा उच्च त्यागको व्यथा कथा कुनै काव्य कृति अथवा आख्यानात्मक आलेख पनि लेखिएन।

यशोधरा एकदमै निर्दोष थिइन्। चन्द्रमामा पनि दोष देखिन्छ तर उनको चारित्रिक विशेषतामा कुनै दागको देखिँदैन। उनले ठूलो उत्सर्ग गरिन्। उल्लेखनीय र उदाहरणीय काम गरिन्। उनले आफ्नो व्यथाको बिलौना पनि कसैसँग गरिनन्। नारी शक्तिको जीवन्त उदाहरणको रूपमा आफूलाई संयमित बनाएर राजमहलस्थित राजर्सी बगैंचाको एउटा कुनामा झुपडी बनाएर बाह्र वर्ष बिताइन्। उनले पनि सबै राजर्सी ठाँटबाँठ छाडिन्। उनी बुद्ध जस्तै एक छाक खान थालिन् र भुइँमा सुत्न थालिन्। यो सबै गर्नुको पछाडि उनको एकमात्र उद्देश्य के थियो भने उनी पनि बुद्धजस्तै सरल र सहज तथा सादा जीवन व्यतित गर्नु।

बुद्धको निर्वाणको ज्ञानस्तरमा उनले पुग्नका लागि यो सबै गरिन्। उनले बुद्धलाई चोट अथवा बाधा व्यवधान पु¥याउने कोशिश सपनामा पनि गरिनन्। सन्तोषमय जीवन व्यतित गरिन्। यशोधराले आफ्नो घरमै आफ्नो दाम्पत्य जीवनको सबै कर्तव्य र उत्तरदायित्व निर्वाह गर्दै मोक्ष प्राप्तिको बाटोमा समर्पित भएर लागिन्। यो सब गर्नुको पछाडि उनको एक मात्र अभिष्ट के देखिन्छ भने कर्म, मन र तनले उनी बुद्धप्रति समर्पित भएर नै यो सबै कर्तव्यको पालना गरिन्।

यशोधराको शाब्दिक अर्थ नै हुन्छ गौरव–गरिमा। उनलाई सिद्धार्थ गौतमले छाडेर गएपछि कतिपय राजकुमारले पुनर्विवाहका लागि अनुरोध गरे तर यशोधराले विवाहका सबै प्रस्ताव अस्वीकार गरिन्। यशोधरा वास्तवमा एउटी वीरङ्गना थिइन्। उनलाई थाहा थियो कि यस्तो विपत्को क्षणमा उनको कर्तव्य र दायित्व के हो भनेर। महाकवि तुलसीदासको एउटा काव्य पंक्ति उदृत गर्न चाहन्छु :

‘धीरज, धर्म, मित्र अरू नारी 
आपत्काल पख्र्यौ चारी।’ 

अर्थात् धैर्य, धर्म, मित्र र नारीको साँचो परीक्षा आपत्कालमा नै हुन्छ। 

यशोधराले राजीय भेषभूषाको परित्याग गरिन्। सबै गरगहना र श्रृंगारको साधनलाई लात मारेर पहेंलो वस्त्र धारण गरिन्। उनको अन्तर्मनको भाव कसैले बुझ्ने कोशिष पनि गरेनन् र उनले स्वयम् पनि कसैलाई अन्तर्मनको वेदना अभिव्यक्त गरिनन्। यशोधराको चरित्र सिद्धार्थ गौतमको अनुपस्थितिमा अथवा भनांै उनको वियोगमा झन् महान् बन्न पुग्यो। आगोमा खापेर सुनजस्तो चम्किलो बन्दछ, त्यस्तै उनको चरित्र चम्किलो बन्न पुग्यो। उनको जुन व्यक्तिसँग वैवाहिक सम्बन्ध स्थापित भयो, त्यसले ईश्वरत्वको प्राप्ति प्रदान गरी अमर बनायो। मानवबाट ईश्वर बनेको यस प्रक्रियामा सिद्धार्थकी पत्नी यशोधराको नै महŒवपूर्ण योगदान देखिन्छ जसको लेखाजोखा भने कसैले गरेन।

यशोधरा सिद्धार्थकी पत्नी थिइन्, बुद्धको होइन। यशोधरालाई छाडेर सिद्धार्थ गएका थिए, बुद्धले होइन तर सिद्धार्थदेखि बुद्ध बन्ने बीचको यशोधराको जीवनकालमा कहीँ पनि काव्यात्मक अथवा गद्यात्मक गाथा लेखिएन र गाइएन पनि। यशोधरा अनाम व्यक्तित्वको रूपमा आफ्नो अभिशप्त जीवन बिताउन बाध्य थिइन्। उनलाई कुनै पश्चाताप भएन। चुपचाप आफ्नो विरहका दिनलाई बिताउँदै कहिले पनि गुनासो नगर्नु उनको चरित्रको सबैभन्दा ठूलो विषेशता हो। उनलाई एउटै कुरालो आजीवन घोचिरह्यो कि सिद्धार्थले उनलाई केही नभनीकन र केही सूचनात्मक संकेत पनि नदिइकन आफ्नो मोक्ष प्राप्तिका लागि चुपचाप राजदरबारबाट निस्के। त्यसले गर्दा उनको हृदय छियाछिया भयो। उनको अन्तरवेदनालाई कसैले आत्मसात् गरेर उनको पक्षमा केही भनेनन्।

यशोधरालाई सबैभन्दा ठुलो चोट के प¥यो भने सिद्धार्थले उनलाई केही वास्ता नगरीकन उनलाई आजीवन उपेक्षित गरी मर्म वेदनाबाट मर्माहत हुँदा कसैले उनको यो मर्म बुझ्न सकेन। एकांकी जीवनमा उनले कयौं व्यथा भोगिन्। उनको अन्तरवेदनाको अभिव्यक्ति उनले कसैसित गरिनन्। यशोधराले यति मात्र भनिन् कि सिद्धार्थले उनलाई केही नभनी जानु नै सबैभन्दा ठुलो पीरमर्का बन्यो। यदि सिद्धार्थले भनेर गएको भए पनि बुद्धको परिनिर्वाणको महामार्गमा बाधा व्यवधान नल्याउने बाचा गर्थें भन्ने उनको आशय थियो। एकमात्र पुत्र राहुलको लालनपालनमा आफ्नो सम्पूर्ण जीवन बिताइन् तर यशोधराको जीवन, उनको महान् त्याग र समर्पणबारे यशोगानको गुणगाथा कहीँ सुनिएन।

इतिहासको पृष्ठमा सीमित भएर यशोधराको सम्पूर्ण जीवन कहालीलाग्दो किसिमबाट बित्यो। त्यस्ती साधनसम्पन्न, ओजस्वी राजकुमारीको बचपना कस्तो रह्यो होला ? कसैलाई थाहा भएन। उनी गुमनामजस्तो भएर आफ्नो कारुणिक गीत गाउँदै जीवन बिताउन बाध्य भइन्। जब बुद्ध परिनिर्वाणपश्चात् यशोधरालाई भेट्न आउनुहुन्छ। जब बुद्धले शिष्य आनन्दसँग भन्नुहुन्छ कि म यशोधरालाई भेट्न जान्छु तब आनन्दले मनाही गर्दछन् तर बुद्धले यशोधरालाई भेटेर आफ्नो आभार प्रकट गर्दछन्। यशोधरालाई सहर्ष धन्यवाद दिन्छन् कि तिमीले गर्दा नै मैले मोक्ष प्राप्त गरें, निर्वाण प्राप्तिमा सफल भएँ। तिम्रो सहयोग नभएको भए म आफ्नो लक्ष्यमा सफल हुने थिइनँ।

यशोधरा भेटको अन्त्यमा यस्तो भन्न पुग्छिन् कि के मोक्ष यस घरमा सम्भव थिएन कि घर छाडेर जानु भो ? बुद्ध अवाक भए। यसबाट यो पनि प्रमाणित हुन्छ कि कुनै पनि व्यक्तिले घरपरिवार छाडेर जंगलमा या निर्जन स्थानमा ध्यान एवं तप गरेमात्र सिद्धि प्राप्त हुन्छ र ? यशोधराको प्रतिप्रश्नको उत्तर बुद्धले दिएनन्। बुद्धत्व प्राप्त गरेपछि यशोधरालाई भेट्न पुग्नुको दृश्य झनै कारुणिक हुन गयो। महिला सशक्तीकरणको यो एउटा सबल र सशक्त पक्ष हो। यशोधराको प्रेम बुद्धप्रति नि:स्वार्थ थियो। उनले एउटा आदर्श आमाको भूमिका पनि निर्वाह गरिन्। उनले राहुललाई भौतिक सुखसुविधा दिएर सम्पन्न विलासी जीवन पनि बनाइनन्। अनि बुद्ध पनि यशोधराको महान् चरित्रप्रति नतमस्तक नै हुन पुगे। अन्त्यमा सबै कुरा बिर्सेर बुद्धको चरणमा परिन्। आफूलाई पनि बौद्धधर्ममा दिष्ठित गर्न अनुनय विनय गरिन्। यो पनि यशोधराको उज्ज्वल र उच्च पक्षको एउटा विशाल आयाम बन्न पुग्यो।

बाह्र वर्षसम्मको सञ्चित आँसु खसाल्दै र अन्तरवेदना लुकाउँदै यशोधराले बुद्धलाई उक्त आग्रह गर्न पुगिन्। उद्भट र अभूतपूर्व दार्शनिक विद्वान् रजनीशले कतिपय व्याख्यामा पनि उनको चरित्रको महिमा र गौरव गरिमालाई उद्धाटित गरेका छन्। प्रसंगवश मैथिली शरण गुप्तद्वारा रचित यशोधरा खण्डकाव्यका केही पंक्ति उदृत गरेको छु : 

‘शखी, वे मुझसे कहकर जानते, 
कह, तो क्या, मुझको वे अपनी पथ वाधा ही पाते     
मुझको बहुन उन्होंने माना,
फिर भी क्या पूरा पहचाना 
जाए सिद्धि पावें वे सुख से 
दुखी न हो इस जग के दुख से 
उपालंम दूं मैं किस मुख से 
आज अधिक वे माते
सखिं, वे मुझ सेकहकर जाते।’

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल