मेलाका रुपमा मनाइने रोपाइ पछिल्लो समय हराउदैं ।

Radio Budhinanda FM -   BFM || २०७८ असार १५ मङ्गलबार



सर्मिला रोकाया


असार १५, विश्व धान दिवस अर्थात दहि चिउरा खाने दिन, नेपालीहरुका लागि छुट्टै महत्व बोकेको दिन । यो दिनलाई देशभरी नै विषेश तरिकाले मनाउने गरिन्छ । नेपालीहरुले आफन्त, साथीभाइ, इष्टमित्र लगायतका छरछिमेककी घरमा बसेर दही चिउरा खाने र खेतमा गएर रोप्ने, हिलो छ्याप्ने, नयाँ कपडा, रातो, पँहेलो र कसैले सेतो टिका लगाउने, दमाह बजाउने, देउडा खेल्ने, पोइली घरबाट आएका दिदी बहिनी बसेर भलाकुसारी अर्थात दुखशुख साटासट गर्ने लगायतको रमाइलो गरी मनाइने गरिन्छ । त्यसैले यो दिनलाई विषेश मानिदै आएको छ । नेपालमा यो दिनलाई एक दिन मात्र रमाइलो भन्दा पनि किसानहरुका लागि पुरै असार महिना धेरै रमाइलो मान्ने पनि चलन छ ।


 


पहिले असार १५ हिलोमा खेल्ने दिन भनेर हैन, पुरै असार महिना हिलोमा खेल्ने महिना भनेर चिनिन्थ्यो । तर अहिले पो थाह भयो की विश्व धान दिवस हो अर्थात दही चिउरा खाने दि हो । उती बेला के नै थाह थियो । यो विश्व धान दिवस अनि दहि चिउरा खाने दिन हो भनेर । किसानलाई यो मात्र थाह थियो की हामी किसान हौं, असारको महिना हो ,यो महिना खेतमा नै हुनु पर्छ । हामीले धान रोपेनौं भने के खाने भन्ने चिन्ताले पनि उनीहरु खेतमै हुने गर्थे । असार १५ गते एक दिन खेतमा जानेलाई केथाह पुरै असारको महिना खेतमै हुनुको महत्व । तर अहिले त के छ की १५ गतेको दिन सधै खेतमा हुने किसान भन्दा पनि एक दिन हिलोमा रमाउन आउनेहरुका लागि मात्र रमाइलो हुने गरेको छ ।


 


सधै खेतमै हुने किसानलाई के रमाइलो हुन्थ्यो । रमाइलो हुने भनेको त यो दिन खेतमा धान दिवस मनाउन अर्थात धान रोप्न, हिलो खेल्न आउने राष्ट्रपति, प्रधानमन्त्री र अन्य एक दिन खेतमा आउनेलाई हो । प्रत्यक वर्ष असार १५ गते पर्ने धान दिवस यो दिन नयाँ कपडा लगाएर धान रोप्न, हिलो छ्याप्न, एक आपसमा शुभकामना बाड्न, दिदी बहिनी एक आपसमा शुखदुख साटासाट गर्नकै लागि भए पनि खेतमा आउने उनीहरुका लागि महत्वपुर्ण दिन ।


 


जसरी प्रत्यक वर्ष असार १५ गतेलाई विश्वले धान दिवसको रुपमा मनाउँछ त्यसरी बाजुराका विभिन्न ठाउँमा परापुर्वकाल देखि रोपाइलाई मेला पर्वका रुपमा मनाउने गरिदै आएको छ । असार मात्र नभएर जेठबाट सुरु हुने रोपाइ बाजुरामा साउनको अन्तिम सम्म चलिरहन्छ । बाजुराका धैरै जसो ठाउँमा एक एक जनाको आलोपालो गरेर रोपाइ गरिन्छ भने कुनै कुनै ठाउँमा सबै एकै दिन पनि रोपाइ लगाउने चलन छ ।


 


बाजुरामा आफ्नै मौलिक परम्परा छन जहाँ परापुर्व काल देखि पर्व जस्तै ठानेर एउटै टोलमा वस्ने सबै एकै दिन रोप्ने गरेका छन । त्यो टोल हो बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक पीपलडाली । पीपलडाली टोलमा हाल १ सय ५० बढी घरपरिवार बसोबास गर्दै आएका छन । उनीहरु सबै एकै दिन रोपाइ गर्दै आएका स्थानीयले बताउने गरेका छन । त्यहाँ जहिले पनि असार १५ गते नै रोपाइ गरिन्छ । रोपाइ मेला तथा पर्वमा जहाँ गाउँ भित्रका मात्र नभएर त्यहाँ अन्य छिमेकी गाउँ आसपासका रोपाइ हेर्न तथा रोप्न आउने गरेका छन । जसरी बाजुराका विभिन्न ठाउँका विभिन्न मौलिक परम्परा छन, जस्तै वाईको चौदशी, जुकोट, नुरी, पाडीको साउन पुर्णिमा, बाँधुको कुलो सोराइ, धिमको खौं, कोल्टीको दशैं , जगन्नाथ र पाण्डुसैनको विशु पर्व, पिलुचौरको शिवरात्री, विरसैनको कृष्ण जन्माष्टमी, कोटिलाको टिमुर टिपाइ त्यस्तै पीपलडालीको रोपाइ पनि मौलिक परम्परा जस्तै हो, स्थानीयले भन्ने गरेका छन ।


 


यो त पहिलेको कुरा हो अहिले के मौलिकताको कुरा गर्नु कारोना भाइरस जस्ता विपद र गाउँघरमा मेलमिलाप नहुनुले, अत्याधिक जाँडरक्सी सेवन जस्ता विभिन्न कारण समाजमा यस्ता मौलिक परम्परा हराउँदै छन । बुढापाखाले भन्ने गरेका छन, उ बेला हामी सम्झदा पहिलो दिन विउ निकालीन्थयो, पछिल्लो दिन रोपिन्थ्यो । असार १५ गतेको रोपाइले गर्दा गाउँघरमा पाइले टेक्ने ठाउँ हुँदैनथ्यो । कुण्डा क्षेत्रभरीका मान्छे आउदा छिया, अव जमना फेरिए, अहिलेका युवाले जाँडरक्सी सेवन गर्न थाले   गाउँघरमा हुन्या यस्ता मेला हराउदै गयाका छन । त्यहि माथि कोरोना आयाको पहिले जसो क्या हँुदो हो एक जना ८० वर्षिया वृद्ध महाँचन्द्र कार्कीले भन्नुभयो ।


 


उती बेला रोपाइ नआउँदै एक महिना अगाडी देखि कुटानी पिसानी गर्दा छिया, रोपाइका बेला गाउँघरमा ४, ५ दिन सम्म गाउँभरी कुण्डा क्षेत्रका मान्छे हुँदा छिया, खाना पकाउदै खुवाउदै ठिक्क हुदो छियो, अव अहिले १५ गते रोपाइका दिन पनि उती कोही मान्छे आउँदैनन्, सबै एकै दिन रोप्न पनि छोडिएल्या, अव पछिल्ला पिडीका पहिला सँगै रोप्ता छिया भन्या हुन्याछ, उनीहरुलाई कथा जस्तै लाग्न्याछ । रोपाइ मेला अव हराइगयो उहाँले भन्नुभयो । ८० वर्ष पुग्नु भएका कार्कीले मधुरो स्वरमा भन्नुभयो, मै पनि ६ ÷७ वर्ष पहिले  १०÷१२ हल बल्द ( गोरु ) जोत्व छिया, अव अहिले तिनहल गोरु मात्र लगायाको छु । पछि पछि यो पनि हराउन्या छ । संगै रोप्न पनि छोड्नेछन, उहाँले भन्नुभयो ।


 


३÷४ वर्ष पहिले धेरै रमाइलो नगरे पनि दिनभरी खेतमा रोपाइ लगाउने र साझँ गाउँ भरीका युवाहरु मिलेर साँस्कृतिक कार्यक्रम गर्ने गरेको थियों । २०६९ साल जेठ १८ गते गाउँमा बाढी पहिरो आयो त्यस पछि त रोपाइ मेला तथा साँस्कृतिक कार्यक्रम हुन छाड्यो, एकै दिन रोप्न पनि छाडे एक जना युवा विस्न कार्कीले बताउनुभएको छ । हामीहरुले परापुर्वका पुर्खाले गर्ने रमाइलो, देउडा खेल्ने, मागल गाउँने जस्ता कार्य गर्न नसके पनि सामान्य रमाइलोका लागि भन्दै साँस्कृतिक कार्यक्रम गरेर रमाइलो गरथ्यौं, उहाँले भन्नुभयो । हाम्रो समुदायमा मनाइने यहि मेला मात्र नभएर अन्य ठाउँमा मनाईने यस्तै किसिमका अन्य मौलिक परम्परा पनि हराउदै गएका छन, उहाँले बताउनुभयो ।

रोपाइ मेला मात्र नभएर हाम्रो गाउँघरमा हुने विभिन्न मौलिक परम्परा छन अहिले प्राय लोभ हुँदै गएका छन । यसमा स्थानीय सरकार तथा सरोकारवाला निकायको पनि ध्यान जान जरुरी रहेको स्थानीयले बताएका छन ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल