फलेबासमा किसानलाई प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

पर्वत — बाँझो जमिनमा खेती गरेका किसानलाई फलेबास नगरपालिकाले प्रोत्साहन रकम वितरण गरेको छ । लकडाउनमा घरमै बसेका किसानलाई जागरूक बनाई उत्पादन बढाउन गत जेठमा घोषणा गरिएको अभियानका सहभागीलाई रकम दिइएको हो  ।

नगरपालिकाले घोषणा गरेबमोजिमको प्रतिरोपनी २ हजार रुपैयाँका दरले नगरका सबै वडामा पुगेर अनुदान दिइएको नगरप्रमुख पदमपाणि शर्माले बताए । ‘स्थानीय सरकारले किसानलाई सम्मान गरेको हो,’ शर्माले भने, ‘सानो प्रोत्साहनकै कारण यस वर्ष नगरमा खाद्यान्न आयात घट्ने विश्वासमा छौं ।’ नगरभित्रका ९७ किसानले बाँझो जमिनमा खेती गरेको उनले बताए । नगरपालिकाले ५ सय २५.५ रोपनी जग्गामा विस्तार भएको खेतीबापत १० लाख ५१ हजार रुपैयाँ वितरण गरेको हो ।

नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीका अनुसार ११ वडामा दुई वर्षभन्दा धेरै समय बाँझो रहेको ५२५ रोपनी जमिनमा धान तथा कोदो खेती विस्तार भएको छ । यसबाट ८५ मेट्रिक टन धान र ५ मेट्रिक टन कोदो उत्पादन भएको उनले बताए । उनका अनुसार नगरमा यस वर्ष धान उत्पादन १२ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष ५ हजार ४ सय ३३ मेटन धान उत्पादन भएकोमा यो वर्ष ६ हजार ९६ टन पुगेको उनले बताए । वडा नं ३ शंकरपोखरीमा सबैभन्दा बढी २ सय ५० रोपनी बाँझो जमिनमा उत्पादन बढेको छ । वडाध्यक्ष अर्जुन कार्कीले घरघरै पुगेर किसानलाई खेतीका लागि उत्साहित गरिएको बताए ।

नगरको कृषि शाखाका अनुसार वडा १ मा ११, २ मा १३, ३ मा २५० रोपनी बाँझो जमिनमा खेती बिस्तार भएको छ । त्यस्तै वडा ४ मा ४८, ५ मा ५५, ६ मा ३, ७ मा ३६, ८ मा १७, ९ मा ११.५, १० मा ५० र ११ मा ३१ रोपनीमा खेती विस्तार भएको छ ।

बाँझिएको जमिन हराभरा बनाउन र बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न अझै उत्पादनमुखी कार्यक्रम ल्याइने नगरप्रमुख शर्माले बताए । नगरपालिकाले पशु फर्म सञ्चालन गरेका किसानलाई दूध बिक्रीबापत प्रतिलिटर २ रुपैयाँका दरले अनुदान वितरण गरिसकिएको पशु प्राविधिक प्रताप पौडेलले बताए ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल