LIVE FM

भावी प्रधानमन्त्रीबारे कांग्रेस किन मौन ?

  • BFM
  •    
  • September 1, 2022

काठमाडौँ — नेकपा एमालेले ०५६ मा आमनिर्वाचनमै मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो । नौ महिने सरकारको नेतृत्व गर्दा लोकप्रिय बनेका अधिकारीलाई एमालेले प्रधानमन्त्रीको रुपमा अघि सारेपछि तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला दबाबमा परे ।

अन्ततः कांग्रेसले पनि पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्यायो । यसबाहेक नेपाली इतिहासका कुनै पनि आमनिर्वाचनमा राजनीतिक दलहरूले चुनावअघि नै भावी प्रधानमन्त्रीको उम्मेदवार तोकेका थिएनन् । यसपटक फेरि एमालेले आमनिर्वाचनमै अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रधानमन्त्रीको उम्मेदवार’ घोषणा गरेको छ ।

तर, ०५६ मा जस्तो एमालेको प्रधानमन्त्री उम्मेदवार घोषणाको प्रभाव भने छैन । सत्तारुढ पाँच दलीय गठबन्धनले गर्दा एक्लिएको एमालेले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे पनि गठबन्धन दललाई त्यसले प्रभावित पारेको छैन । गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसमा कुनै आश्चर्य भएबाहेक चुनावअघि नै प्रधानमन्त्री उम्मेदवार तोक्ने सम्भावनासमेत देखिँदैन ।

चुनावमै तालमेल गर्ने सहमति गरेका गठबन्धन दल चुनावमा मतदातामाझ आगामी पाँच वर्षसम्मै गठबन्धन र स्थायी सरकारको प्रतिबद्धताबारे गृहकार्य गरिरहेका छन् । अहिले चुनावपछि को प्रधानमन्त्री बन्ने भन्ने विषय गठबन्धनमा छलफलको विषय नै बनेको छैन । गठबन्धन दल चुनावी परिणाम आउनुभन्दा अगावै भावी प्रधानमन्त्रीबारे बोल्ने अवस्थामा छैनन् ।

त्यसो त चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरिसकेका छन् । जबकि गठबन्धनको ठूलो दल कांग्रेस सभापतिसमेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भने त्यसबारे मुख खोलेका छैनन् । तर, कांग्रेसभित्रै भने प्रधानमन्त्री बन्न आकांक्षीहरूको लर्को छ ।

हाल पाँचौ पटक प्रधानमन्त्री बनेका देउवा फेरि प्रधानमन्त्री बन्न चाहन्छन् । १४ औँ महाधिवेशनबाट दोहोरिएर शक्तिशाली सभापति बनेका देउवालाई पार्टीभित्र फेरि प्रधानमन्त्री बन्ने वातावरण बनाउन खासै कठिनाइ छैन । उनी कांग्रेसबाट प्रधानमन्त्रीका निर्विकल्प उम्मेदवार भने होइनन् ।

प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगर्ने बताए । ‘प्रधानमन्त्री संसद्‌बाट चुन्ने हो, हामीलाई अहिले नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिहाल्नुपर्ने हतार छैन,’ प्रवक्ता महतले भने, ‘एमालेले घोषणा गर्‍यो भनेर अहिले हामीले प्रधानमन्त्री तोकिहाल्ने होइन । त्यसमाथि ओलीजीको नेतृत्व असफल सावित भइसकेको हो । उहाँको नाममा ठूलो जनमत आउनेवाला पनि छैन, खास एमालेको घोषणाको कुनै अर्थ छैन ।’

उनले कांग्रेस देउवाकै नेतृत्वमा चुनावमा होमिएको बताए । ‘अहिले सभापतिजीको नेतृत्वमा गठबन्धन र सरकार चलिरहेको छ, यो सरकारले हिजो ओलीजीको सरकारले सिर्जना गरेका थुप्रै विकृतिहरूको अन्त्य गर्ने काम गरेको छ,’ प्रवक्ता महतले अघि भने, ‘हामीले उहाँकै नेतृत्वमा स्थानीय चुनाव सम्पन्न गर्‍यौं, प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि उहाँकै नेतृत्वदायी भूमिका हुन्छ । चुनावपछि प्रधानमन्त्री को हुने भन्ने कुरा त्यो बेलाको समीकरण के हुन्छ, त्यसले निर्धारण गर्छ ।’

एमालेले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दैमा कांग्रेसले अहिल्यै घोषणा गरिहाल्ने अवस्था नरहेको नेताहरु दाबी गर्छन् । ‘नेकपा एमालेमा ओलीको विकल्प दिने गरी नेता नै छैनन्, त्यसैले चुनावअघि उहाँहरूको यो घोषणाको खास अर्थ पनि छैन,’ एक पदाधिकारीले भने, ‘कांग्रेसमा एमालेको जस्तो अवस्था छैन, हाम्रो पार्टीभित्र कोही पनि विकल्पहीन छैन, प्रधानमन्त्रीका आकांक्षी नै धेरै जना हुनुहुन्छ ।’

पार्टीमा रुपान्तरण र पुस्तान्तरणको मुद्दा लिएर महामन्त्री बनेका गगन थापाले यसपटक प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिकरुपमै उनलाई समर्थन गरेका छन् ।

यसबाहेक देउवाकै सहयोगी/सहयात्री रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि प्रधानमन्त्री बन्ने चाह देखाइरहेका छन् । कांग्रेसवृत्तमै भावी प्रधानमन्त्रीको रुपमा आरजु राणाको नामसमेत चर्चामा छ । सभापति देउवाले नै श्रीमती आरजुलाई पार्टी राजनीतिमा उत्तराधिकारीको रुपमा अघि सार्न चाहे राणा नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा देखा पर्ने सम्भावनासमेत छ ।

प्रवक्ता महत भने अहिले नै भावी प्रधानमन्त्री को बन्ने भनेर चर्चा गर्नु हतारो हुने दाबी गर्छन् । ‘नेपाली कांग्रेस धेरै नेताहरू भएको ठूलो पार्टी हो, पार्टीभित्र इच्छा हुनु स्वाभाविक हो । इच्छा राख्नै नपाउने भन्ने हुँदैन,’ उनले भने, ‘मुलुकलाई परिपक्क नेतृत्वको आवश्यकता छ । अहिल्यै घोषणा गरेर प्रधानमन्त्री बन्ने पनि होइन, त्यो चुनावको परिणामले निर्धारण गर्ने कुरा हो । हामी पार्टीभित्र छलफल गरेरै अघि बढ्छौं ।’

कांग्रेसको विधानअनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ । निर्वाचित सांसदहरूमध्येबाट संसदीय दलको नेता चयन हुने व्यवस्था छ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु भनेको सर्वसम्मत संसदीय दलको नेता चयन गर्नु हो । तर, अहिलेकै अवस्थामा कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत चयन हुने सम्भावना कमैमात्र छ ।

कांग्रेसका अधिकांश निर्णय सभापतिबाट हुन्छन् । अझ यसपटक त केन्द्रीय समितिदेखि टिकट वितरण गर्ने संसदीय समितिसम्मै बहुमतकाे आधारमा देउवाको सर्वाधिकार चल्ने अवस्था छ । टिकट वितरणमै देउवाको वर्चस्व भएपछि संसदीय दलको नेता बन्नु उनका लागि उति धेरै कठिन छैन ।

यद्यपि देउवा चुनावअघि नै भावी प्रधानमन्त्रीबारे बोल्न तयार छैनन् ।

चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुको अर्को उद्देश्य हुन्छ— चुनावमा लोकप्रिय मत पाएर संसद्‌मा पार्टीको बहुमत जुटाउनु । तर कांग्रेसकै नेताहरु चुनाव अगावै भावी प्रधानमन्त्रीको रुपमा देउवाको नाम अघि सारे भोट बढ्ने होइन, बरू घट्न सक्ने बताउँछन् ।

‘देउवालाई उम्मेदवार बनाउँदा भोट बढ्दैन, आफ्नै नाम अघि बढाउन नपाएपछि अर्को पपुलर उम्मेदवार घोषणा गरेर चुनावमा जान उहाँको मुड देखिँदैन,’ देउवाइतर समूहका एक केन्द्रीय सदस्यले इकान्तिपुरसँग भने, ‘आफ्नै नाम प्रस्ताव गर्दा भोट घट्ने डर, अर्कोलाई त उहाँ बनाउनै चाहनुहुन्न ।’

कांग्रेसका युवा नेता एवम् विश्लेषक शंकर तिवारी सभापति देउवा नै फेरि पनि प्रधानमन्त्रीको स्वाभाविक दाबेदार रहेको बताउँछन् । ‘उहाँ पार्टीमा सिटिङ प्रेसिडेन्ट हो, टिकट उहाँले नै बाँड्ने हो, यस्तो अवस्थामा उहाँले नचाहेको मान्छे संसदीय दलको नेता बन्ने सम्भावना छैन,’ तिवारी भन्छन्, ‘कांग्रेसबाट प्रधानमन्त्रीमा फेरि पनि देउवा नै हो । तर, चुनावअघि नै घोषणा गर्न उहाँको फेस लोकप्रिय छैन । जो लोकप्रिय छ, उसलाई स्वीकार्न सक्ने अवस्था पनि कमै छ । त्यसमाथि पाँच दलीय गठबन्धनको ह्याङओभर त छँदैछ ।’

तिवारीकाअनुसार कांग्रेसमा अहिले पनि ०५६ कै अवस्था छ । ०५६ मा पार्टीको बहुमत गिरिजाप्रसाद कोइरालासँग थियो । आफैं प्रधानमन्त्री बन्न चाहन्थे, तर लोकप्रिय थिएनन् । अहिले बहुमत देउवासँगै छ, तर लोकप्रिय छैनन् । यस्तोमा देउवालाई जनतामाझ अर्को लोकप्रिय नेतालाई प्रधानमन्त्री उम्मेदवार बनाउनुपर्ने दबाब हुनसक्थ्यो । तर, गठबन्धनका कारण उनीमाथि त्यस्तो दबाब समेत छैन ।

‘कांग्रेसले ०५६ मा किसुनजीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावमा गयो । जनताले त्यसलाई अनुमोदन गरे पनि पार्टीभित्रैको गुटगत विवादले जनमतको सम्मान हुन सकेन । त्यसपछिका सबै चुनावमा कांग्रेसले त्यो अभ्यास गरेको छैन,’ विश्लेषक तिवारी भन्छन्, ‘०६२/६३ पछि हामीले सुधारिएको लोकतन्त्रको अभ्यास गर्ने त भनियो । तर त्यस्तो अभ्यासले निरन्तरता पाएन । यसपटक त झन् त्यस्तो अभ्यास हुने सम्भावना देखिँदैन ।’

त्यसबेला भट्टराईकै कारण कांग्रेसले बहुमत पाएको थियो भने कोइरालाकै कारण भट्टराई सरकार १० महिनामै ढलेको थियो । आफ्नै पार्टीभित्रको फोहोरी खेलले अल्पमतमा परेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका भट्टराईले कांग्रेसको राजनीतिबाटै अवकाश लिएका थिए ।

भट्टराईलाई प्रेरणाको स्रोत मान्ने नेता रामहरि खतिवडाले पार्टी कमजोर भएको बेला निष्कलंक छवि भएका नेता भट्टराईको नेतृत्वमा पार्टीले बहुमत ल्याएको स्मरण गरे ।

‘किसुनजी निष्कलंक छवि भएको नेता हुनुहुन्थ्यो । अहिले पनि कांग्रेसमा सक्षम नेताको अभाव छैन । यदि प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गर्ने हो भने एमालेमा ओलीजस्तो कांग्रेसमा देउवामात्रै भन्ने अवस्था छैन,’ उनले भने, ‘हामी कहाँ देउवासँगै रामचन्द्र पौडेल हुनुहुन्छ, मधेसबाट विमलेन्द्र निधिदेखि आदिवासी प्रकाशमान सिंहसम्म हुनुहुन्छ, त्यसमा युवा पुस्ताको गगन थापासम्मले रुचि देखाउनुभएको छ । तर हामी गठबन्धनका कारण अहिले नै प्रधानमन्त्री तय गरेर जाने अवस्थामा छैनौं ।’

कांग्रेसमै एकथरी नेताहरूले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने माग गरेका छन् भने अर्कोथरी नेताहरूले गगन थापालाई अघि बढाउन दबाब दिइरहेका छन् । तर, त्यो दुवै प्रयास सभापति देउवाले चाहेको अवस्थामा मात्रै सम्भव देखिन्छन् ।

विश्लेषक तिवारी कांग्रेसमा पार्टी सत्तामा वर्चस्व नभएसम्म देशको सत्तामा पुग्न कठिन हुने बताउँछन् । ‘कांग्रेसमा जो पार्टीमा छ, सत्तामा उसैको नियन्त्रण हुने अभ्यास छ । अहिले पटक–पटक प्रधानमन्त्री भइसकेका देउवाले आमनागरिकमा आशा जगाउने व्यक्तिलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर जानुपर्ने अवस्था त हो,’ उनी भन्छन्, ‘तर त्यसका लागि नेतृत्वले धेरै फराकिलो सोच्न सक्नुपर्छ ।’

चुनावअघि नै प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जान कांग्रेसका लागि पाँच दलीय गठबन्धन पनि बाधक हुने देखिन्छ । गठबन्धनमा त यो विषयमा छलफल भएको छैन नै, कांग्रेसभित्र पनि यो विषय ओझेलमा छ । जसकारण नेताहरूले प्रधानमन्त्री बन्ने चाह देखाए पनि त्यो सार्वजनिक खपतमै सीमित छ ।

महामन्त्री थापाले अब प्रधानमन्त्रीको लागि आफू सक्षम रहेको भनेपनि पार्टीका औपचारिक बैठकहरूमा त्यो विषयले प्रवेश नै पाएको छैन । १४ औँ महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डा चर्को नारा बने पनि त्यसपछिको पार्टी जीवनमा झल्किँदैन ।

सहमहामन्त्री जीवन परियार गठबन्धनको चापमा पुस्तान्तरणको मुद्दा र मुलुकको मुहार फेर्न सक्ने युवा पुस्ताबाट प्रधानमन्त्री उम्मेदवार तोक्ने जस्ता विषयहरू ओझेलमा परेको स्वीकार्छन् । ‘महाधिवेशनले पुस्तान्तरणको मुद्दा अनुमोदन गरेकै हो । तर, त्यसपछि निर्णयको सर्वाधिकार सभापतिसँग जोडिएकाले कतिपय कामहरू हामीले चाहेर पनि गर्न सकिरहेका छैनौं,’ उनले भने ।

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने पार्टीले आशालाग्दा अनुहारहरूमध्ये कोही एक जनालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा जानुपर्ने बताए । ‘अहिले आम मतदाताले नयाँ अनुहार रुचाएका छन् । स्थानीय तहको निर्वाचन परिणामले पनि हामीलाई धेरै कुरा सिकाएको छ,’ उनले भने, ‘यदि कांग्रेसले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने हो भने जनताको चाहनाअनुरुप कांग्रेसले नयाँ पुस्ताबाट महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जानुपर्छ, त्यसबाट पार्टीको पक्षमा जनमत सिर्जना गर्न मत पुग्छ ।’

विश्लेषक तिवारी भने अहिले एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए पनि मनमोहनको जस्तो इमेज नभएकाले अन्य दलले डराउनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘त्यो बेलाका मनमोहनसँग अहिलेको ओलीको तुलना हुँदैन, उनको इमेज राम्रो छैन,’ तिवारीले भने ।

ताजा समाचार

ताजा समाचार