LIVE FM

कांग्रेसमा ०७४ का समानुपातिक सांसदले दोहोरिन नपाउने

  • BFM
  •    
  • August 26, 2022

काठमाडौँ — नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस नगर्न तल्ला तहलाई निर्देशन गरेको हो ।

महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन् ।

कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’ कांग्रेसको विधानमा एउटै क्षेत्रबाट दुई जना उम्मेदवार नहुने समेत प्रष्ट व्यवस्था गरेको छ ।

ताजा समाचार