LIVE FM

माओवादीसँग एकता गर्न नेकपा (एस)ले बनायो संयोजन समिति

  • BFM
  •    
  • August 17, 2022

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताए ।

उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए ।

बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको उनको भनाइ थियो । ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भूमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एक जना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एक जना महिलासहित ४ जना उहाँहरुले नाम पहिला पठाउनुहुन्छ । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ,’ तुलाधरले भने ।

नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यसअघि मंसिरमा हुने निर्वाचनपछि पार्टी एकताको तयारी हुने बताएका थिए । उनले त्यस क्रममा बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पनि एकताको तयारी भएको बताएका थिए ।

ताजा समाचार