नहकुल जाेशी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको स्याउको ग्रेडीङ गरिए संगै ढुवानीमा अनुदान पाउने भएको छ । गाउँपालिकामा उत्पादन भएको स्याउलाई बजार सम्म पुर्याउनकालागि कृषि ज्ञान केन्द्र बाजुराले र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ ओखर जोन कार्यालय पिलुचौरको ५०÷५० प्रतिशत अनुदानमा स्याउ ढुवानी हुने भएको हो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा यस बर्ष करिव २ सय ५० क्वीन्टल स्याउ उत्पादनको अनुमान भएको र १ सय क्वीन्टल स्याउ आन्तरिक खपत भए पनि बाकी स्याउ ढुवानी हुने आस गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा आज बसेको बैठकले स्याउलाई ग्रेडीङ गरेको छ । स्याउको गुणस्तर अनुसार ग्रेडीङ गर्दै ए वि र सी ग्रेडमा विभाजन गरेको छ । ए ग्रेडको स्याउको प्रतिकेजि खरिद मूल्य रु ५०, वि गे्रेडको ४० र सि ग्रेडको ३० रुपैयाँ मूल्य कायम गरिएको छ भने पिलुचौर सम्म ढुवानीका लागि प्रति केजि रु १८ रुपैया अनुदान दिइने निर्णय भएको हो । स्याउको बजारीकरणका लागि कृषि सहकारी, कृषि फर्म र कृषि समूहहरुले गर्न सक्ने निर्णय समेत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रोकायाको अध्यक्षतामा सम्पन्न कृषक अभिमूखिकरण कार्यक्रममा उपाध्यक्ष मैना जोशी, वडाध्यक्षहरु, परियोजना प्रमुख पवन कुमार तिवारी, कृषि साखा प्रमुख, पत्रकार र ५० बढी कृषकहरुको सहभागिता रहेको थियो ।
कृषि साखाका नायव प्राविधिक सहायक निरेश कट्टेलले सञ्चालन गरेको कार्यक्रममा स्याउ खेती, टिप्ने तरिका र अनुदानका बारेमा जानकारी परियोजना प्रमुख तिवारीले गर्नुभएको हो ।