LIVE FM

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ।।

  • BFM
  •    
  • August 16, 2022

सिआइएन, काठमाण्डौं

प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।

पारित विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ र राष्ट्रिय सभाले पनि दफावार छलफल सहित पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । राष्ट्रिय सभाले पारित गरेर पठाएपछि प्रतिनिधिसभा स्वीकार गरी सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाउने प्रक्रिया रहेको छ । पारित हुनुअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पेश गरेको उक्त विधेयकको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले विधेयकमा अस्पष्टताहरू रहेको भन्दै सुधारको माग गरे ।

नेपाली काँग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयकको नाम, क्षेत्राधिकार र विशिष्टकृत वर्गीकरणमा समेत संशोधनको माग राख्नुभयो । अन्यथा, पशु चिकित्सक, पशु स्वास्थ्य प्रावधिक, पशु व्यवसायी, पशु स्वास्थ्य सम्बन्धी ज्ञान भएका मानिसहरूमा क्षेत्राधिकारबारे दुविधा उत्पन्न हुन सक्ने उहाँको भनाइ छ । नेकपा एमालेका सांसद खगराज अधिकारीले विधेयकमा एसएसली र आईएस्सी गरेका जनशक्तिलाई एकै ठाउँमा राखिएको भन्दै विधेयक जस्ताको तस्तै पारित गरिए प्रश्न उठ्न सक्ने बताउनुभयो । सांसद दुर्गाबहादुर रावतले पशु स्वास्थ्यका सन्दर्भमा नेपालका ग्रामीण भेगहरुमा पुख्र्याैली ज्ञानबाट सेवा प्रदान भइरहेको स्मरण गर्दै त्यो ज्ञानलाई कसरी सङ्कलन गर्ने, संरक्षण कसरी गर्ने भन्ने बारेमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्र कुमार सिंहले सांसदहरूले दिएका सुझावलाई समेट्न तयार रहेको बताउनुभयो । तर, सांसदहरूका संशोधन ऐनमा नभए नियमावलीमा समेटिने र ऐनमा रहेका अस्पष्टताहरूलाई नियमावलीले स्पष्ट गर्ने उहाँको जवाफ थियो । मन्त्री सिंहका अनुसार लगभग ३८ सय सरकारी र निजी क्षेत्रमा २१ हजार जति पशु प्राविधिक रहेका छन् । उनीहरुको नियमन गर्नका लागि विधेयक ल्याएको उहाँको प्रष्टीकरण दिनुभयो ।

ताजा समाचार

ताजा समाचार