सर्मिला राेकाया रेडियाे बुढीनन्दा
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ ले सामाजिक सुरक्षा भत्ता वितरणका लागि डाटा संकलन सुरु गरेको छ । वडा कार्यालयले बैंक सम्म पुग्न नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिको डाटा संकलन सुरु गरेको हो ।
जगन्नाथ गाउँपालिका र हिमालय बैकको समन्वयमा हिजो देखि वडाध्यक्ष गणेशराज गिरी लगायत कर्मचारीको टोलीले डाटा संकलन सुरु गरेको बताइएको छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि ३ घण्टाको पैदल यात्रा गरेर जानु पर्ने समस्यालाई मध्यनजर गर्दै अध्यक्ष गिरीले नागरीकता लगायतका आवश्यक कागजात संकलन गर्न सुरु गरेको बताउनुभयो । वडा नं एक देखि गाउँपालिकाको केन्द्र जुड्डीमा ३ घण्टा जान, ३ घण्टा आउन लाग्ने र बैकमा सेवा ग्राहीको लामो भिड हुने, बास वस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दे डाटा संकलन सुरु भएको उहाँको भनाई छ ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा नं एकबाट सञ्चालन भएको डाटा संकलन कार्य गाउँपालिकाको सम्पुर्ण वडामा लागु हुने जनाइएको छ । वृद्धवृद्धाको र अपाङ्गताको सहजताको लागि घरघरमा पुगेर संकलन गरेको विवरण अनुसार वडा कार्यालयले भत्ताको रकम हातहातमै पुरयाउने वडा अध्यक्ष गिरीले बताउनुभयो ।