LIVE FM

कर्णालीका गोठालाहरुको चार महिने वनबास

  • BFM
  •    
  • July 23, 2022

मानबहादुर कुँवर

जुम्लाको अन्तिम गाउँ ‘चोत्राको चौर’ देखि पूर्वमा पर्ने दूधकुण्डली ताल छेवैको डाँडाबाट उदाएको सूर्य पश्चिमतर्फ छलाङ मार्दैछ ।

जङ्गलभरि लय हालेर कराइरहेका गज्याङकिराको आवाजले गोठालाहरूलाई गोठतिर भैँसी बटुल्न सङ्केत गरिरहेको छ ।

वरिपरि घना जङ्गल, छेउमा कलकल बगिरहेको खोला । खोला किनारमा रङ्गीचङ्गी त्रिपालले छाएका गोठहरू छन् ।

यीनै गोठमा झण्डै ४ महिना बिताउँछन्, कर्णालीका भैँसी गोठालाहरू ।

जुम्ला र जाजरकोटबाट असार पहिलो साता लेकमा उक्लिएका गोठहरू असोजपछि मात्रै बेसी झर्छन् ।

गाउँमा भीरपाखा बढी छ, घाँस काटेर खुवाउनुपर्छ । 

लेकमा भने गोठालालाई हाइसुख हुन्छ । गाउँ हुँदा गोठभित्रै थुनिने भैँसी लेकमा भने स्वतन्त्र हुन्छन्, मन लागेजति चर्न पाउँछन् ।

नेपालकै गहिरो ताल से–फोक्सुण्डो, जगदुल्ला र दूधकुण्डली पुग्नेहरू यही मनाङ–मुस्ताङ पुग्ने सडक खण्ड भएर यात्रा गर्छन् । 

पर्यटकको आगमन हुँदा सवारी साधनको आवाजले पाडाहरू तर्सिन्छन्, गोठालाहरू भने दहीदूध विक्री हुने आसाले खुसी हुन्छन् ।

गोठाला दिलबहादुर बुढा भन्नुहुन्छ ‘जँगली जनावरको डर छ, हावाहुरीले त्रिपाल उडाउँछ । विपद्बाट बालबाल बचेका छौँ । हामी आफ्नै मेहनत र लगावले बाँचिरहेका छौँ । सरकार हाम्रो सुखदुखको साथी बन्न सक्नु पर्छ ।’ पर्यटकहरू भँैसी गोठमा दही दूध खाँदै गन्तव्यको टुङ्गो लगाउँछन् । गोठालाहरू दैनिक ४ घण्टा हिँडेर दूध, दही बेच्न गाउँ पुग्छन् ।

चार महिनामा भँंसीगोठबाट भएको आम्दानीले घर खर्च चलाउन उनीहरूलाई सजिलो हुन्छ । महिनामा ४० हजारसम्म आम्दानी हुने जाजारकोटका दलबहादुर चलाउनेले बताउनुभयो ।

‘हाम्रो बाल्यकाल लेकबेसी गर्दै गयो । हरेक वर्षा भैँसी गोठसँग लेक पुग्न थालेको २२ वर्ष पुग्यो ।’ उहाँले भन्नुभयो ।

वर्षायामका चार महिनासम्म जुम्लाको चोत्रा, गुठिचौर, दुम्मर, तरापीलगायतका ठाउँमा भैँसी राखिन्छ ।

असोज पहिलो साता यी गोठहरू बेसी सारिन्छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लाका भैँसीको सङ्ख्या ७ हजारको हाराहारीमा छ ।

वर्षमा प्रति व्याक्ति ९१ लिटर दूध आवश्यक पर्ने भएता पनि अहिले ४७ लिटर मात्रै आपूर्ति भइरहेको छ ।

परम्परागत रूपमा रहेको भैँसी पालन व्यवसायमा रुपान्तरण हुनेक्रम बढिहेका पशु अस्पताल तथा पशु शाखा कार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताउनुभयो ।

‘जुम्लामा पारपाटे र गड्डी जातका भैंसीहरु छन् ।’ भैँसी पालनमा आर्कषित गर्न गोठ निर्माण र भैँसी खरिदमा अनुदान दिदै आएको उहाँको भनाइ छ ।

जुम्ला खलङ्गामा आधा दर्जन दूध डेरी सञ्चालन छन् । परम्परागत रूपमा रहेको भँंसी पालन विस्तारै व्यावसायिक बन्दै गएको छ ।

पाटन र खर्कमा पुगेका आगन्तुक चरा, थरिथरिका फूल सँगै वर्षायाममा लेकाली भेगमा सारिएका गाई, भैँसी र भेडिगोठले शोभा बढाएका छन् ।

तर गोठहरू भने व्यवस्थित छैनन् ।

चट्याङ, हावाहुरी, असिनापानीबाट बच्ने व्यवस्थित गोठ बनाइदिनुपर्ने गोठालाहरूको माग छ ।

गोठाला दिलबहादुर बुढा भन्नुहुन्छ ‘जँगली जनावरको डर छ, हावाहुरीले त्रिपाल उडाउँछ । विपद्बाट बालबाल बचेका छौँ । हामी आफ्नै मेहनत र लगावले बाँचिरहेका छौँ । सरकार हाम्रो सुखदुखको साथी बन्न सक्नु पर्छ ।’

ताजा समाचार