LIVE FM

विब्यस गठनमा राजनिती घुसेपछिः
जिल्लाका कतिपय विद्यालय कामचलाउ विब्यसले चल्दै ।।

  • BFM
  •    
  • July 21, 2022

जीवनकुमार कैला


जिल्लाका अधिकांस सामुदायीक विद्यालयहरुमा नयाँ विद्यालय ब्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको कामकाज प्रभावित हुने गरेको छ । शिक्षा ऐन अनुसार विद्यालय ब्यवस्थापन समितिको पदावधि ३ बर्षको हुन्छ तर कतिपय विद्यालयमा ५/६ बर्ष देखि कामचलाउ विब्यसले काम गरिरहेको पाइएको छ ।


विद्यालयको शैक्षिक ब्यवस्थापन र विभिन्न काममा विब्यसको निर्णय अनिवार्य हुने गरेपनि विब्यस गठनमा राजनितीकरण र विवाद हुदा विद्यालयहरु विब्यस विहिन अर्थात समय सकिएका कामचलाउ विब्यसले चलिरहेका हुन ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका दुई ठूला सामुदायिक विद्यालय स्वामीकार्तिक मा.वि र सम्भुसुनन्दा माविमा विब्यस कामचलाउ भएको लामो समय सम्म विद्यालय ब्यवस्थापन समिति गठन हुन सकिरहेका छैन । विद्यालय ब्यवस्थापन समितिको तीन वर्षे म्याद सकिएको लामो समय भईसक्दा पनि विद्यालयमा नयाँ समिति गठन हुन सकिरहेको छैन । यसले विद्यालयका कतिपय नीतिगत निर्णय प्रभावित भैरहेको शिक्षकहरुले बताउने गरेका छन ।
राजनीतिक खिचातानी र विवादका कारण विद्यालय ब्यवस्थापन समिति गठन गर्न समस्या हुने गरेको अनुभव विद्यालय प्रशासनको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका २५ वटा सामुदायिक विद्यालय मध्य स्वामीकार्तिक माद्यामिक विद्यालय वाई र शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकोटको विब्यस गठन हुन सकेको छैन भने विवादित रहेका केहि विद्यालयको विब्यस गठन भने जनप्रतिनिधिहरुको प्रयासमा भएका छन ।
स्वामीकार्तिक खापर गापा ३ जुकोटमा रहेको सम्भुसुनन्दा मा.विको विब्यस २०७८ साल भित्रै गठन गर्नु पर्ने भए पनि डेढ वर्ष विति सक्दा पनि नयाँ समिति गठन हुन नसकेको विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर शाहीले बताउनुभयो । कहिले कोरोना, कहिले दशंै विदा त कहिले चुनाव लगायतका विभिन्न समस्याका कारण गठन प्रक्रिया लम्विएको बताउदै उहाँले भदांै भित्र नयाँ समिति गठन हुने बताउनुभयो ।
यता स्वामीकार्तिक मा.विको पनि करिव ३ बर्ष देखि विब्यस गठन हुन सकेको छैन । विद्यालयको विब्यस अध्यक्ष बनाउनेमा राजनिती घुसेपछि विवाद भै नयाँ समिति गठन हुन नसकेको र गठन प्रक्रियामा विवाद हुदा दुई कार्यकाल पुरानो समितिले विताएको प्रधानाध्यापक शक्ति शिहं कठायतले बताउनुभयो । उहाँले विब्यस गठनका लागि पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको बताउनुभयो ।
जिल्लाका अन्य स्थानिय तहमा पनि विद्यालय ब्यवस्थापन समिति पनि गठन हुन नसक्दा विद्यालयहरु अस्तब्यस्त बनेका छन । वडिमालिका नगरपालिकाका २५ वटा सामुदायीक विद्यालय मध्य दुई वटा विद्यालयले विब्यस गठन गर्न सकिरहेका छैनन । सत्यवादी माद्यामिक विद्यालय भांैनेरा र मष्टेश्वरी आधारभुत विद्यालयले विद्यालय ब्यवस्थापन समिति गठन गर्न नसकेका बडिमालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल विकले जानकारी दिनुभयो । स्थानिय चुनाव, परीक्षा र वर्षे विदाका कारण विब्यस गठन प्रक्रियामा ढिलाई भएको उहाँले बताउनुभएको छ । साउन १५ गते सम्म वर्षे विदामा रहेका विद्यालयमा १६ गतेबाट पढाई सञ्चालन गरीने र विब्यस गठन हुन नसकेका विद्यालयलाई भदांै भित्र गठन गरीसक्न पत्राचार गरीसकेको उहाँले बताउनुभएको छ । यस्तै विब्यस गठन हुन वाकि रहेका हिमाली गाउँपालिकाका सामुदायीक विद्यालयलाई पनि एक हप्ता भित्र विब्यस गठन गर्न पत्रचार गरेको शिक्षा शाखा प्रमुख कविन्द्रराज पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाका २२ वटा सामुदायीक विद्यालय मध्य विच्छ्या मावि विच्छ्या, गंगा आधारभुत विद्यालय बांैडि र खोलीडाडाँ आधारभुत विद्यालय पाँडीमा विब्यस गठन हुन नसकेको उहाँले बताउनुभयो । विव्यस गठन गर्न वाकि रहेका विद्यालयलाई एक साता भित्र गठन गर्न सवै विद्यालयमा पत्राचार गरीसकेको शिक्षा शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
विद्यालयको ब्यवस्थापन, रेखदेख, अनुगमन, मूल्याङ्कन जस्ता कार्य विब्यसले गर्ने भए पनि विद्यालय ब्यवस्थापन समितिलाई राजनैतिक प्रतिष्ठा बनाउनुले सामुदायीक विद्यालयहरुको गुणस्तर खस्किनुका साथै विद्यालयलाई अनावश्यक राजनितीमा तान्ने कार्य भै रहेको छ ।

ताजा समाचार